राष्ट्रिय सभा निर्वाचन : पुस १८ गतेभित्र उम्मेदवार सिफारिस गरेर पठाउन एमालेको निर्देशन

काठमाडौँ । आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा एमालेले पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई पुस १० गते पत्राचार गर्दै पुस १८ गतेभित्र खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार पुस १८ गते बेलुकासम्म सबै प्रदेश कमिटीले उम्मेदवार सिफारिस गरेर पठाएमा १९ पुसबाट सिफारिस नामहरूमाथि छानबिन सुरु हुने र उम्मेदवारको टुङ्गो लाग्ने बताए ।

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ।
राष्ट्रिय सभामा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना, मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि फागुन २० बाट सकिँदै छ । पदावधि सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने भएकाले माघ ११ मा निर्वाचन हुन लागेको हो ।