एमाले गोदावरीले मेयर भट्टलाई सोध्यो : सुकुम्बासीले जग्गा कहिले पाउँछन्? नगरपालिकामा भ्रष्टाचार किन मौलायो?

काठमाडौं ! कैलाली स्थित नेकपा एमाले गोदावरी नगर कमिटीले उक्त नगरपालिका क्षेत्रका विभिन्न जनजिविकाका सवालहरुमा नगर प्रमुख वीरेन्द्र भट्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ। आज एमाले गोदावरी नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहको नेतृत्वको टिमले नगर प्रमुख भट्टलाई भेटेरै एलानी जग्गा नापजाँच लगायत विभिन्न समसामयिक विषयहरुमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उक्त कमिटीले गोदावरी क्षेत्रमा दलित सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको ऐलानी जग्गा नाप जाँच विगत लामो समय देखी रोकिएको भन्दै छिटो सुचारु गर्न माग गरे।

यस्तै गोदावरीमा खोलाहरूबाट नदीजन्य वस्तु उठाउने विषयमा समेत टेन्डर प्रक्रिया नगरी उठाउने विषयमा यथाशीघ्र समाधान गर्न, भ्रष्ट्राचार र अनियमितता बन्द गर्न, शिक्षकका मागहरू पुरा गर्न र लागु पदार्थ दुर्व्यसनी नियन्त्रण र जनताका सवाल एवं समस्याहरुको समाधान गर्न कमिटीले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

नगर कमिटीका कार्यवाहक अध्यक्ष समेत रहेका सिंहको नेतृत्वमा गएको टोलीले आफ्ना मागहरु जनतासँग जोडिएका हुनाले यथाशीघ्र कार्यान्वयन गर्न भनेको छ। नगरप्रमुखले यस्ता महत्त्वपूर्ण मागहरुबारे बेवास्ता गरिए आफुहरु जनतासँग एकताबद्ध भै नगरपालिका विरुद्ध आन्दोलन गर्ने समेत स्पष्ट पारे।