झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल : बरिष्ठ उपाध्यक्ष पोखरेल

झापा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले भर्खरै सम्पन्न गरेको झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल भएको बताएका छन् ।

हिजो चिवाभञ्ज्याङमा अभियान सम्पन्न गरी आज काठमाडौं फर्कंदै गर्दा प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संकल्प यात्रा कसैको बिरुद्धमा नभएको दाबी पनि गरे ।

संकल्प यात्रा, जनजागरणको यात्रा भएको बताउँदै उनले अभियान मार्फत वर्तमान सरकारका गलत कार्यको खबरदारीसमेत भएको बताए ।

निर्वाचनमा मात्र दलहरु जनताको घर दैलोमा आउँछन् भन्ने जनताको गुनासोलाई यो अभियानले सम्बोधन गरेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई थियो । उनले पार्टीलाई जनतासँग जोड्न यो यात्रा सफल रहेको दावी पनि गरे ।

बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा १८ दिनपछि पाँचथरको चिवाभन्ज्याङमा समापन भएको थियो । यात्राका क्रममा जनताका बिभिन्न गुनासोहरु सुन्ने अवसर प्राप्त भएको पोखरेलले बताए ।

राजनीतिक हिसाबले जनतामा निरासा पैदा भइरहेको अवस्थामा उत्साह जगाउनसमेत यात्रा प्रभावकारी रहेको अभियानका दौरान देखिएको जनसहभागिताले पुष्टि गरेको उनले बताए ।

मध्य पहाडी क्षेत्रका जनताको अवस्था, जनजिविकाको सवाल, बसाँई सराई लगायत सम्भाब्यता अध्ययनका निम्ति ठूलो सफलता पाएको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने अब चाँडै काठमाण्डौमा समग्र अभियानको प्रतिवेदन सार्वजनिक गरिनेछ ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले झापाका इन्चार्ज विशाल भट्टराई, झापाका अध्यक्ष दिपक कार्की लगायतको उपस्थिति थियो ।