मध्यपहाडी सडकको कारण जीवनस्तरमा सुधार आएको छ, आयआर्जन वृद्धि भएको छ

तेह्रथुम । मध्यपहाडी पुष्पलाल राजमार्ग खुलेपछि मध्यपहाडको जीवनमा सुधार आएको स्थानीयले बताएका छन् ।
नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा २२ सय ८८ मिटरको उचाइमा रहेको तेह्रथुमको वसन्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थानीयले सो बाटोले जीवनस्तर परिवर्तनका ठुलो सहयोग पुराएको बताउनुभयो । उहाँहरू बास बसिरहेको ठाउँमा ओलीलाई भेट्न पुग्नुभएका स्थानीयले मदन भण्डारी राजमार्गको काम पनि छिटो अगाडि बढाउन माग गर्नुभयो ।
स्थानीय हिक्मतबहादुर खड्काले मध्यपहाडी राजमार्ग खुलेपछि आएको परिवर्तनबारे अध्यक्ष ओलीलाई जानकारी गराउँदै परम्परागत कोदो खेती लगाउने जग्गामा तरकारी खेती गर्न लागेको बताउनुभयो । ‘बन्दा लगायतको तरकारी खेती लगाए आयआर्जन वृद्धि भएको छ, जीवनस्तरमा सुधार आएको छ’, उहाँले भन्नुभयो ।
अहिले वसन्तपुरबाट भारत तर्फको बजार व्यवस्थापनमा भने केही समस्या भएको उहाँले सुनाउनुभयो । ‘अरू चाहिँ यहाँका जनताहरू अहिले खुसी छन्, उहाँहरूलाई दुई/चार पैसा चाहिँदा ऋण काढ्नु पर्दैन, आफ्नो व्यवस्था आफैँ गर्न सक्ने अवस्थामा पुग्नुभएको छ, मध्यपहाडी सडकको कारण यहाँका जनताको जीवनस्तरमा सुधार आएको छ’, उहाँले भन्नुभयो ।
मदन भण्डारी राजमार्ग निर्माणको काम ढिला भएकोले ताप्लेजुङ र सङ्खुवासभामा उत्पादन हुने बन्दा भारत पठाउन केही समस्या भएको उहाँले ओलीलाई सुनाउनुभयो । त्यस्तै तरकारी निकासी गर्दा ल्याब टेस्ट र भन्सारमा हुने झञ्झटलाई हेर्नु पर्ने उहाँले सुनाउनुभयो ।
उहाँको कुरा सुनेपछि ओलीले केही गर्न खोज्नेको लागि अवसर सिर्जना हुँदै गएको बताउनुभएको छ । ‘उद्यम गर्न खोज्नेलाई केही भएकै छ, अझ गर्दै जानु पर्छ’, ओलीले भन्नुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।