कोशीमा झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अवरोध नगर्न एमालेको अपिल

काठमाडौं ! प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ।

मंगलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए।

उनले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरूलाई अवरोध सिर्जना नगर्न आग्रह गरे।

प्रचार प्रमुख गाैतमले नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्‍याउन आग्रह गरे।

जनताको मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै राजनीतिक दलको अभियानमा अवरोध सिर्जना नगर्न र असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण रूपमा गुनासा राख्न सकिने उनकाे भनाइ छ।

उनले कोशी प्रदेशको नामको सवाल कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेशसभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्ने बताए।

काशी प्रदेश नामाकरणमा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र पनि सहभागी भएकाले नेकपा एमालेलाई मात्रै निशाना बनाइ गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने जिकिर गरे।

नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजबाट उदयपुरको घुर्मी हुँदै खोटाङ प्रवेश गर्दैछ।