एमालेको संकल्प यात्रा आज धादिङ र नुवाकोट पुग्दै

काठमाडौँ। नेकपा एमालेले सुरु गरेको संकल्प यात्राको क्रममा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली धादिङ र  नुवाकोट पुग्नु हुनेछ।
नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा हुने सभालाई सम्बोधन गर्न एमाले ओली बिहान धादिङमा पुग्नु हुनेछ।धादिङको कार्यक्रम सकिएपछि अध्यक्ष ओली  नुवाकोटको बट्टार बजार आइपुग्ने एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो । एमाले नुवाकोटले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

अध्यक्ष ओली नुवाकोट जाने भएपछि सदरमुकाम बिदुरमा पार्टीको झण्डा र स्वागत गेटले सिंगारिएको छ । सभाको तयारीको लागि एमाले स्थायी कमिटी सदस्य बागमती प्रदेश इन्चार्ज गुरु बराल, पोलिटव्यूरो सदस्य तथा नुवाकोट इन्चार्ज अरुण नेपाल शुक्रबारनै नुवाकोट पुग्नु भएको छ ।

एमाले अध्यक्ष ओली नुवाकोट दरबार र पृथ्वीनारायण शाहको शालिकस्थल देविघाट पनि अवलोकन गर्ने मैनालीले बताए । एमालेले सभाको लागि गाउँगाउँबाट कार्यकर्ता उतार्ने जनाएको छ ।
धादिङको त्रिपुरासुन्दरी हुँदै अध्यक्ष ओली नुवाकोट सदरमुकाम आइपुग्ने र काठमाडौंको चिसापानी हुँदै आइतबार धुलिखेल पुग्ने कार्यसूची रहेको जनाइएको छ ।