एमालेको संकल्प यात्रा आज लमजुङ र गोरखा पुग्दै

काठमाडौं ! नेकपा एमालेको लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा टोली आज शुक्रबार पोखराका बिभिन्न ठाउँका कार्यक्रम सकेर लमजुङ र गोरखा जाँदैछ।

यात्राको नवौँ दिन शुक्रबार गण्डकी प्रदेशको यात्रा समापन हुनेछ। आजको यात्रा पोखराबाट शुरु भएर नयाँपुल, रामटार, काँडे र भोर्लेटारमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट हुनेछ।

बिहानको खाना लमजुङको सुन्दर बजारमा हुनेछ भने यही ठाउँमा आमसभा पनि हुने पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । आमसभा सकिएसँगै अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ ।

मध्य पहाडका सामाजिक आर्थिक,सांस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन, स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीमा मङ्सिर १४ गतेबाट एमालेले मध्य पहाडी राजमार्गको यात्रा सुरु गरेको हो।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित मङ्सिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा पुस २गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुङ्गिनेछ ।