जाजरकोट भूकम्प : दुई हप्ता पछि एमालेको स्वयंसेवक टोली फर्कियो, पीडितलाई सघाउने जिम्मा अब स्थानीय कमिटीलाई

काठमाडौं । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजार बढीको नेकपा एमालेको स्वयंसेवक टिम दुई हप्ता बढी सेवा गरेर फर्किएको छ ।
जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णय अनुसार खटिएको दक्ष जनशक्ति सहितको टोलीले १५ दिनभन्दा बढी स्वयंसेवी काम गरेको छ । कार्तिक १७ गते भूकम्प गएपछि मध्य रातदेखि नै जाजरकोट र रुकुमका स्थानीय पार्टी नेता कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका भए पनि दक्ष कामदार सहितको जिफण्टको टोलीले मङ्सिर १ गतेबाट र अन्य स्वयंसेवकले मङ्सिर ३ गतेबाट काम गरेका थिए ।
कात्तिक १८ गते पार्टी उपमहासचिव विष्णु रिमाल सहितको टोलीले भूकम्प प्रभावित क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षतिको स्थलगत अवलोकन गरेपछि त्यसको भोलिपल्टै अनेरास्ववियुको चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । सो टोली उद्धारको काममा खटेको थियो ।
प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउन र अस्थायी आवास निर्माणको लागि भने पहिलो पटक कार्तिक ३० गते दक्ष जनशक्ति सहित जिफन्टको ७५ जनाको समूह काठमाडौंबाट त्यस तर्फ लागेको थियो । सो टोलीले मङ्सिर १ गतेबाट काम सुरु गरेको थियो ।
त्यस पछि पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयबाट केन्द्रीय सदस्य एवम् विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा मङ्सिर ३ गते देशभरबाट एक हजार स्वयंसेवकको टिम प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण तथा भत्किएका संरचना हटाउने काममा खटेको थियो ।
प्रभावित क्षेत्रमा एमालेले २५ जनाका दरले ४० वटा समूह बनाई प्रभावित क्षेत्रमा खटाएको थियो । ती स्वयंसेवक प्रभावित दुई जिल्लाका विभिन्न बस्तीमा भग्नावशेष व्यवस्थापन तथा अस्थायी आवास निर्माणमा जुटेका थिए । जसमध्ये २५ समूहले जाजरकोटमा र १५ समूहले रुकुमपश्चिम काम गरेका थिए ।
सो अवधिमा एमालेका स्वयंसेवकले ५ सय ३ वटा भग्नावशेष व्यवस्थापन गरेका स्वयंसेवक टिमका नेतृत्व गर्नुभएका एमाले नेता किरण पौडेलले जानकारी दिनुभयो । ‘भूकम्पले धराप बनाएका घरहरूबाट जोखिम मोलेरै भए पनि जनताका सर सम्पत्ति सुरक्षित बाहिर निकालिदियौँ, पूर्ण रूपले क्षति भएका घरभित्र पुरिएका सामान उत्खनन गरेर सम्बन्धित परिवारलाई बुझायौँ’, पौडेलले भन्नुभयो ।
सो क्रममा ८ सय १३ अस्थायी आवास निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो । सो कार्यबाट गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, तथा आर्थिक रूपले विपन्न परिवारलाई राहत पुगेको उहाँले बताउनुभयो ।
एमालेको स्वयंसेवक टोलीले १६ वटा अस्थायी विद्यालय समेत बनाएर हस्तान्तरण गरेको छ । भूकम्पले घर भत्किएर ठप्प भएका ती विद्यालयमा अस्थायी कक्षा कोठामा पठनपाठन सुरु भएको छ ।
स्वयंसेवक टोली फर्किए पनि अस्थायी आवास निर्माणको अभियान नरोकिएको उहाँले बताउनुभयो । स्थानीय नेताहरूको नेतृत्वमा अभियानलाई निरन्तरता दिने गरी हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । आफूहरूले लगेका सामाग्रीहरू स्थानीय नेतृत्वलाईनै काम निरन्तरता दिने गरी हस्तान्तरण गरेर आएको स्वयंसेवामा वाग्मतीबाट एउटा टोलीको नेतृत्व गरेर फर्कनु भएको राज मैनालीले जानकारी दिनुभयो ।
नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग नेपाल सरकारलाई सो क्षेत्रमा गर्नुपर्ने कामको बारेमा केही सुझाव समेत दिएको । यतिखेर प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम रहेको पौडेलले बताउनुभयो । व्यवस्थित शौचालयको कमीका कारण निकट भविष्यमा विभिन्न किसिमका महामारी फैलिन सक्ने जोखिम रहेको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको यसमा यथाशीघ्र ध्यान जानु पर्ने उहाँले बताउनुभयो ।
हालसम्म पुनर्निर्माण कसरी सुरु हुन्छ र कसरी सम्पन्न हुन्छ भन्ने स्पष्ट खाका सरकारले तयार गर्न सकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । देशभित्र ७ हजारभन्दा बढी पूर्वाधार विकास सम्बन्धी दक्ष जनशक्ति भएकाले सरकारले उनीहरूको दक्षतालाई स्थानीय सरकार मार्फत प्रयोग गर्नुपर्ने एमालेले सुझाव दिएको छ ।
२०७२ को विनाशकारी भूकम्प पश्चात् मात्रै देशमा १ लाख भन्दा बढी दक्ष सिकर्मी डकर्मी उत्पादन भएका स्मरण गराउँदै उहाँले उनीहरू मध्य के कति आवश्यक हुन् र कसरी पुनर्निर्माणमा प्रयोग गर्ने हो, सरकारले योजना बनाएर परिचालन गर्न सुझाव दिनुभएको छ ।
अस्थायी आवास निर्माण गर्न सरकारले दिने निर्णय गरेको प्रतिपरिवार ५० हजार रुपैया कहिले सम्म दिने भन्दै उहाँले प्रश्न गर्नुभएको छ । अहिले प्रत्येक पालिकामा वित्तीय संस्थाहरू खुलेकाले तत्काल बैंकमार्फत सो रकम भूकम्प प्रभावित परिवारलाई दिन उहाँले सुझाव दिनुभएको छ । सो रकममा भ्रष्टाचार नगर्न पनि एमालेले खबरदारी गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरूमा गहिरो मनोवैज्ञानिक असर परेकोले यथाशीघ्र मनोपरामर्शदाताहरु परिचालन गर्नुपर्ने सुझाव एमालेको छ । यसमा शिक्षकलाई समेत व्यापक रूपमा परिचालन गर्न एमालेले सुझाव दिएको छ ।
सरकारले विपद् व्यवस्थापन प्राधिकरणलाई गृह मन्त्रालयको एउटा सामान्य विभाग जस्तो बनाएर कर्मकाण्डी बनाएको प्रति एमालेले आपत्ति जनाएको छ । प्राधिकरणलाई प्रधानमन्त्रीको कार्यालय अन्तर्गत राखेर प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा पुनर्निर्माण सम्बन्धी सम्पूर्ण काम कारबाही अघि बढाउन सुझाव दिइएको छ ।
पुनर्निर्माण भनेको केवल घर ढलेका ठाउँमा अर्को संरचना उठाउनु नभई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पनि उठाउनु भएकोले सोही किसिमको रणनीति अख्तियार गर्न एमालेले सुझाव दिएको छ । ‘कतिपय स्थानमा एककृत बस्तीको योजना ल्याउन सकिन्छ भने कतिपय स्थानका सम्पूर्ण बस्ती नै अर्को स्थानमा सार्नुपर्ने हामीले देखेका छौँ, तसर्थ, सरकारले आम नागरिकको मनोबल वृद्धि हुने गरी काम गरोस्’, एमालेको सुझाव छ ।
सो भूकम्पमा परी १ सय ५७ जनाको ज्यान गएको थियो भने २ सय ७५ जना भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट १ लाख ८० हजार भन्दा बढी नागरिक प्रत्यक्ष रूपले प्रभावित बनेका छन् ।
तथ्याङ्क अनुसार जाजरकोटमा ९ हजार ७ सय ९४ निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने २४ हजार ७ सय ७ घर आंशिक रूपमा क्षति भएका छन् । रुकुममा १६ हजार ५ सय ७० निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने ९ हजार ९ सय ६१ आंशिक क्षति भएको आंकलन गरिएको छ ।