समृद्धिको लागि संकल्प यात्राको टोलीलाई सल्यानको सल्लीबजारमा भव्य स्वागत

काठमाडौं । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टोली मंगलबार बिहान सल्यानको सल्लीबजार पुगेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य लगायतका नेताहरूको टोली सुर्खेतबाट सल्यान पुगेको हो ।
सल्यानको सल्लीबजार पुग्दा टोलीलाई स्थानीयले भव्य स्वागत गरेका छन् । पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयले सडकमा लाइन लागेर टोलीलाई स्वगत गरेका थिए । उहाँहरूलाई स्वागत गर्न ठुलो सङ्ख्यामा सर्वसाधारणको उपस्थिति थियो ।
टोलीले आज सल्लीबजार, छेडेबजार, सेरीगाउँ, मुसिकोट लगायतका स्थानमा स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा पुननिर्माण सम्बन्धी छलफल कार्यक्रम पनि राखिएको छ । टोली आज पूर्वी रुकुमको रुकुमकोट पुगेर बास बस्ने कार्यक्रम रहेको छ ।
बैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी मङ्सिर १४ गते आरम्भ गर्नुभएको यात्राको आज छैटौँ दिन हो । यात्रा २१ औँ दिनको दिन पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुँदै छ ।
मध्य पहाडको विकासको अवस्था, चुनौती र सम्भावना पहिचान गर्न एमालेले सो यात्रा आयोजना गरेको हो । पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ भन्ने विषय खोजी गर्न यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।