समृद्धिको लागि संकल्प यात्राको टोलीलाई स्वागत गर्न एमाले कास्कीको विशेष तयारी

काठमाडौं । नेकपा एमाले कास्कीले नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई जिल्लामा सफल बनाउने विभिन्न कार्यक्रम तय गरेको छ ।
बैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी आरम्भ भएको अभियान टोली आठौँ दिन मङ्सिर २१ गते कास्की आइपुग्दा भव्य स्वागत गर्ने योजना पार्टीले बनाएको छ । त्यस्तै टोलीलाई मङ्सिर २२ गते कास्कीबाट बिदाइ गरिने कार्यक्रम तय भएको छ ।
नेकपा एमाले कास्कीले पत्रकार सम्मेलन गरी नेपालको भौगोलिक संरचनामा पहाडको विशेष महत्त्व रहेको जनाएको छ । पहाडमा विकासको चुनौती र सम्भावनाहरूलाई ध्यानमा राखेर नेकपा एमालेले पहाडी क्षेत्रको विकासका लागि रणनीतिक महत्वका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानी संरचना एवं विद्युतीय लगायत महत्त्वपूर्ण योजना अगाडि बढाउँदै आएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो ।
एमालेले पहाडका समस्या के छन्, किन पूर्वाधार र उत्पादनको विषय जोडिन सकेको छैन, विकास र पूर्वाधार निर्माणको ढाँचामा नै कुनै समस्या छन् कि, छन् भने समाधान कसरी गर्न सकिन्छ र पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ भन्ने विषय खोजी गर्न यात्रा आयोजना गरेको उहाँले प्रष्ट पार्नुभयो । त्यसैले सो यात्रामा सक्रिय सहभागिता जनाउन नेकपा एमाले कास्कीले आह्वान गरेको छ ।
मङ्सिर २१ गते पर्वतको कुस्मा बजारमा दिउँसो १ बजे हुने जनसभामा पनि कास्की जिल्लाको तर्फबाट व्यापक सहभागिता गराइने उहाँले जानकारी दिनुभयो ।
त्यसपछि नयाँ पुलमा दिउँसो तीन बजे पदयात्रीलाई गरिने स्वागत टोलीमा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इञ्चार्ज थममाया थापा सहित केन्द्रीय सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, केन्द्रीय सल्लाहकार सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरू, संघ तथा प्रदेशका माननीय सदस्यहरू, जिल्ला कमिटी पदाधिकारी, सदस्यहरू जनसंगठनका केन्द्रीय पदाधिकारीहरू, पालिका कमिटी पदाधिकारीहरू, सदस्यहरू, इलाका कमिटी, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यहरू वडा कमिटीका अध्यक्षहरूको उपस्थिति रहने गुरुङले जानकारी दिनुभयो ।
अन्नपूर्णको नयाँपुल र नौडाँडाको कार्यक्रम संयोजन जिल्ला कमिटीको तर्फबाट केन्द्रीय सदस्य राजीव पहारीले गर्नुहुने भएको छ । त्यस्तै हेम्जा मिलनचोकको संयोजन केन्द्रीय सदस्य कृष्ण थापाले गर्नुहुने नेकपा एमाले कास्कीले जानकारी दिएको छ । अमरसिंह चोकको स्वागत कार्यक्रमको संयोजन केन्द्रीय सदस्य मिनाकुमारी गुरुङले गर्नुहुनेछ भने तालचोकको संयोजन केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले गर्नुहुनेछ ।
कार्यक्रमको सम्पूर्ण प्रचारको संयोजन उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामा नेतृत्वको प्रचार प्रसार टिमले गर्ने भएको । स्वयंसेवक परिचालन, युवा, विद्यार्थी, खेलकुद र जनसंगठनको परिचालन उपसचिव नवराज ओझाले गर्नु हुने भएको छ भने खाना, खाजा, आवासको व्यवस्थापन जिल्ला पदाधिकारी र वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेल र सचिवालय सदस्य कृष्ण न्यौपाने रहेको कमिटीले गर्ने भएको छ ।