एमालेको स्वयंसेवक टोलीद्वारा जाजरकोट र रुकुम पश्चिममा १६७ घरका भग्नावशेष सफाइ, ८० घरटहरा निर्माण

जाजरकोट । नेकपा (एमाले)को स्वयंसेवक टोलीले आजदेखि भूकम्पको केन्द्रविन्दु बारेकोटमा काम शुरु गरेको छ । स्वयंसेवक टोलीले भूकम्पले भत्काएका घरहरूका भग्नावशेष हटाउने काम थालेका छन् ।
बारेकोट गाँउपालिका 
भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा आजबाट काम सुरु गरिएको र आजै तीनवटा घरको भग्नावशेष हटाई सफा गरिएको छ । त्यहाँ पार्टीका स्थानीय कार्यकर्ता स्वयंसेवकका रूपमा खटेका छन् ।


भेरी नगरपालिका 
स्वयंसेवक टोलीले भेरी नगरपालिका वडा नं. ३  माथिल्लो थाप्लेमा ३७ वटा घरहरूको भग्नावशेष सफा गरेको पार्टीका केन्द्रीय सदस्य निरज आचार्यले बताउनुभयो । त्यहाँ नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को तीन ओटा टोलीले मङ्सिर १ गतेदेखि काम गरिरहेको छ ।
त्यसैगरी जाजरकोटकै पिपलडाँडा टोलमा अनेरास्ववियुको टिमले १५ ओटा घरको भग्नावशेष हटाउनुका साथै दुईवटा अस्थायी टहरा बनाएको छ । रावत गाउँमा नेकपा (एमाले)सुर्खेतको स्वयंसेवक टोलीले २८ ओटा घरका भग्नावशेष सफा गरेको छ भने पाँचवटा अस्थायी आवास बनाएको छ । त्यहाँ खेलकुद महासंघका स्वयंसेवकहरूले पनि काम गरिरहेका छन् ।  वडा गैरिखाली टोलमा कोशी प्रदेशबाट आएको टोलीले दुईवटा घरको भग्नावशेष सफा गरेको छ ।
नलगाड नगरपालिका 
नलगाड नगरपालिका वडा नं १ को चिउरी गाउँमा सुर्खेतको टोलीले १२ ओटा नयाँ टहरा बनाएको छ भने चार ओटा घरको भग्नावशेष हटाएको छ । वडा नं. १ कै कल्पत गाउँमा युवा संघ सुदूर पश्चिमको टोलीले काम गरिरहेको छ । यस टोलीले  नगरपालिकाको मापदण्ड अनुसारका सातवटा नयाँ टहरा बनाएको छ भने आठवटा घरको भग्नावशेष हटाउने र सामान झिक्ने काम गरेको छ ।

कुशे गाउँपालिका 
कुशे गाउँपालिका वडा नं ७ को धनराशी गाउँमा स्थानीय स्वयंसेवकले विहीबारबाट काम सुरु गरेका र दुईदिनमा तीनवटा घरको भग्नावशेष हटाई  एकवटा नयाँ टहरा बनाएका छन् ।
जाजरकोटमा स्वयंसेवकहरू १२ वटा समूहमा विभाजित भएर काम गरिरहेका छन् । हालसम्म १३२ घरका भग्नावशेष हटाई मालसामान झिक्ने काम गरेका छन्  भने ३० घरटहरा बनाई हस्तान्तरण गरेका छन् ।
त्यसैगरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ खोलागाउँ र आठविसकोट नगरपालिका–१३ घेत्मामा लुम्बिनीबाट गएको स्वयंसेवकहरूको समूहले काम गरिरहेको सिङ्गो स्वयंसेवक टोलीको नेतृत्व गरिरहनुभएका पार्टी केन्द्रीय विपद व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख किरण पौडेलले बताउनुभयो ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आठवटा समूह, सानीभेरी गाउँपालिकामा तीन समूह र चौरजहारी नगरपालिकामा दुई समूह गरी १३ वटा समूहले काम गरिरहेका छन् । रुकुम पश्चिममा लुम्बिनीबाट गएका २०० जना,सुदूर पश्चिमबाट गएका १९ जना र  गण्डकीका २७ जना गरी २४६ जना स्वयंसेवक परिचालित छन् ।
नेकपा (एमाले) रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाका अनुसार,  रुकुममा हालसम्म ३५ वटा भत्केका घरका भग्नावशेष हटाउनुका साथै ५१ वटा अस्थायी घरटहरा निर्माण गरिएको छ ।
गत कात्तिक १७ गते राती गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा एमालेले एकहजार एकसय स्वयंसेवक परिचालन गरेर पुनस्र्थापना र नवनिर्माणको काम गरिरहेको छ ।