एमालेले उत्पादन गर्यो चार हजार प्रशिक्षक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले करिव सवा बर्षको अवधिमा चार हजारभन्दा बढी कार्यकर्तालाई प्रशिक्षण दिई प्रशिक्षकका रूपमा तयार गरेको छ ।
पार्टीको दशौँ महाधिवेशनपछि २०७८ माघमा केन्द्रीय पार्टी स्कुल विभाग गठन भएको र त्यसको समयपछि स्कुल सञ्चालन गरी प्रशिक्षक प्रशिक्षण प्रदान गरेर उक्त सङ्ख्यामा प्रशिक्षकहरू उत्पादन गरेको हो । ति प्रशिक्षकहरू अब देशव्यापीरूपमा कार्यकर्ता र पार्टी सदस्यलाई प्रशिक्षण दिन खट्नेछन् ।
पार्टी स्कुल विभागद्वारा शुक्रबार (२०८० असोज २६ गते) पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित दीक्षान्त समारोहमा विभागका कामहरूबारेको प्रतिवेदन सार्वजनिक गर्दैै पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले उक्त जानकारी गराउनुुभयो ।
दीक्षान्त समारोहमा अध्यक्ष केपी शर्मा ओलीलाई विभाग प्रमुख ज्ञवालीले प्रतिवेदन हस्तान्तरण गर्नुुभएको थियो ।
अहिलेसम्म भएका प्रशिक्षणहरू र तिनमा सहभागी प्रशिक्षार्थीहरूको भोक जाग्ने उत्साहले अत्यन्त उर्जा प्राप्त भएको चर्चा गर्दै प्रमुुख ज्ञवालीले यस बर्ष हरेक प्रदेशमा औसतमा २५ हजार जना एमाले कार्यकर्तालाई प्रशिक्षण दिने तयारी रहेको जानकारी गराउनुुभयो । यसो गर्दा देशभर थप झण्डै एक लाख ७५ हजार कार्यकर्ताले प्रशिक्षण पाउनेछन् ।
विभागले अहिलेसम्म विशेष प्रकृतिका १३ वटा प्रशिक्षण श्रृङ्खला सम्पन्न गरेको छ । विभाग अन्तर्गत देशभर विभिन्न स्तर र प्रकृतिका दस हजारभन्दा बढी कक्षाहरू सम्पन्न भएका छन् । ति कक्षाहरुबाट एक लाखभन्दा बढी नेताकार्यकर्ताहरू लाभान्वित भएका छन् ।
विभागले स्थानीय निर्वाचन तयारीको सन्दर्भबाट प्रशिक्षणको सुरुवात गरेको थियो ।
२०७८ माघ २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सातवटै प्रदेशका अगुवा कार्यकर्ताहरूका लागि आयोजित उक्त प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको भर्चुअल माध्ययमबाट उद्घाटन गर्नुभएको थियो । विभागको नेतृत्वमा भएको उक्त कार्यक्रममा पार्टी स्थानीय विभाग तथा निर्वाचन विभाग समेतको सहभागिता रहेको थियो ।
त्यसयता विभागले विभिन्न समय र स्थानमा विभिन्न सन्दर्भ तथा स्तरका प्रशिक्षण सम्पन्न गरेको छ । विभाग प्रमुुख ज्ञवालीका अनुसार यो अवधिमा स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अनुशिक्षण, राष्ट्रिय कार्यशाला, नवप्रवेशीहरूका लागि अनुशिक्षण, प्रदेशहरूमा स्थायी पार्टी स्कुल स्थापना तथा प्रशिक्षण, पार्टी सम्वद्ध जनसंगठनहरूका लागि प्रशिक्षण लगायतका विशेष श्रृङ्खला सम्पन्न भएका छन् । त्यस्तै केन्द्रीय विभागले विभिन्न जिल्ला, सम्पर्क कमिटी र जनसंगठनहरूमा प्रशिक्षणको सहजीकरण गरेको छ ।
१३औं श्रृङ्खलाका रूपमा विभागले पछिल्लो पटक प्रवासी नेपालीहरूलाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।
विभागले तीन तहका स्कुुलका लागि चार तहका पाठ्यक्रम र प्रशिक्षण निर्देशिका निर्धारण र प्रकाशन गरिसकेको छ । त्यस्तै आधारभूत तहको पाठ्यपुुस्तक प्रकाशनको तयारी छ ।
अब केन्द्रमा छिट्टै स्थायी प्रकृतिको स्कुल सञ्चालन हुने छ भने हरेक प्रदेशमा स्थायी कक्षाको सञ्चालनका लागि कक्षा कार्यलयहरूको स्थापना हुने क्रम तीब्र छ । विभागले हरेक प्रदेशमा छ महिनाभित्र कम्युुनिष्ट आन्दोलनबारे खोज, लेखन र प्रकाशन गर्ने अभियान पनि अघि बढाएको छ ।
विभागका सचिव घनश्याम कोइरालाले अहिलेसम्मका कामहरूबाट आफूहरूमा उत्साह र उर्जा प्राप्त भइरहेको बताउँदै स्कुल विभागका कार्यहरूलाई अझ व्यवस्थित रूपमा अघि बढाइने योजना रहेको जानकारी गराउनुभयो ।