एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन आजबाट : अध्यक्ष ओलीले उद्घाटन गर्नु हुने

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन आजबाट पोखरामा सुरु हुँदैछ। आजबाट सुरु हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ।

अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको जनाइएको छ।
पत्रकार सम्मेलनमा पार्टीका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले पार्टीमा आन्तरिक जनवादलाई कार्यान्वयनमा ल्याउने पहिलो पार्टी नेकपा (एमाले) भएको बताउँदै सहमतिबाट नेतृत्व छान्ने कुरा उच्चस्तरीय लोकतान्त्रिक अभ्यास भएको बताउनुभयो । त्यसो नभए मत विभाजन प्रक्रियाबाट पनि नेतृत्व चयन गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य खगराज अधिकारी, किरण गुरूङ, प्रदेश अध्यक्ष नवराज शर्मा लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।
सचिव विष्टले नेकपा (एमाले)ले सुरु गरेपछि मात्र नेपाली कांग्रेसले पार्टीको आन्तरिक जीवनमा निर्वाचनको अभ्यास गरेको स्मरण गराउनुभयो । लोकतन्त्रको व्यवहारमा अभ्यास गर्ने पहिलो पार्टी एमाले भएको भनाइ उहाँले राख्नुभयो ।
प्रदेश ईन्चार्ज विष्टले गण्डकी प्रदेश कमिटीको नेतृत्व चयन गर्दा अधिकतम सहमतिको लागि प्रयास गरिने वताउनुभयो ।
पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनसक्ने बताउँदै विष्टले प्यानल बनाएर पार्टीको आन्तरिक चुनावमा जाने कुरा मान्य नहुने प्रष्ट पार्नुभयो । प्यानल बनाएर चुनाव लड्नेको उम्मेदवारी खारेज हुने कुरा पार्टी अध्यक्षले बताइसक्नुभएको उहाँले स्मरण गराउनुभयो ।
प्यानल बनाएर चुनाव लड्दा माथिदेखि तलसम्म पार्टी विभाजन हुने भएकाले त्यसो हुन नदिने उहाँले बताउनुभयो । सचिव विष्टले भन्नुभयो– सहमतिका लागि अधिकतम प्रयास हुन्छ, नभए स्वच्छ प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन हुन्छ ।
सचिव विष्टले नेकपा (एमाले)को अधिवेशन पार्टीको आन्तरिक जीवनका लागि मात्र नभएर देशको समृद्धि, विकास र राष्ट्रियता संरक्षणको लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।