एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको यही असोज १९ र २० गते हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरिएको छ ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी ईन्चार्ज सुजिता शाक्यले आइतबार लोगो सार्वजनिक गर्नुभएको हो ।


सो अवसरमा इन्चार्ज शाक्यले पार्टीको संगठनात्मक कामलाई प्रणालीगत बनाई आगामी निर्वाचनमा पहिलो दल बनाउनेगरी काम गर्न आग्रह गर्नुभयो ।
वर्तमान गठबन्धन सरकारले जनतालाई महङ्गीबाहेक केही नदिएको भन्नुहुँदै ईन्चार्ज शाक्यले एमाले नेतृत्वको सरकारले मात्र जनता र देशको पक्षमा काम गर्ने बताउनुभयो । त्यसका लागि आगामी निर्वाचन २०८४ मा एमालेलाई एकल बहुमतसहित विजयी बनाएर  सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्याउन अनिवार्य रहेको उहाँले बताउनुभयो ।
पोलिटव्यूरो सदस्य शाक्यले हामी देशको नेतृत्वमा जान सक्यौँ भने मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हाम्रै पालामा सफलता सम्भव हुन्छ भन्नुभयो । उहाँले प्रदेश कमिटीको अधिवेशनमा प्रतिनिधि बन्नबाट छुट्नु भएकाहरुलाई पनि पार्टीले उचित जिम्मेवारी दिने छ भन्दै निराश नहुन आग्रह गर्नुभयो ।
अधिवेशनका लागि प्रतिनिधि छनौटको काम शनिबार सम्पन्न भएको छ । अधिवेशनमा तीनसयभन्दा बढीको सहभागिता रहने छ ।
गैर भूगोलका विशेष क्षेत्र पेशा, व्यवसाय, विद्यार्थी र मजदूर क्षेत्रको छाता संगठनका रूपमा रहेको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनलाई त्यही उचाईंका साथ भव्य, सभ्य र उच्च संस्कारमा सम्पन्न गरी उदाहरणीय बन्नुपर्ने ईन्चार्ज शाक्यले बताउनुभयो ।
सो अवसरमा उपत्यका प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीले प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न गर्न जनपरिचालनमा जोड दिनुहुँदै सभागृहमा हुने उद्घाटनसत्रमा सक्रियता साथ सहभागी हुन कमिटी मातहतका सबै सदस्यहरूलाई आव्हान गर्नुभयो ।
अधिवेशनको लोगो उपत्यका विशेष प्रदेश कमिटीका सदस्य महेन्द्र श्रेष्ठले बनाउनुभएको हो । उहाँले लोगो निर्माणको परिकल्पनाका बारेमा जानकारी गराउनुभएको थियो ।
लोगो सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी ईन्चार्जहरू विना श्रेष्ठ, सीता लामा, बालिका गिरी र गोविन्द दुवालको उपस्थिति रहेको थियो ।