एमाले अधिवेशन : आज कोशी र कर्णाली प्रदेशमा निर्वाचन हुँदै

काठमाडौं ! नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनअन्तर्गत आज (आइतबार) बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । शनिबार नै मतदान प्रक्रिया शुरू गर्ने भनिए पनि आज मात्र मतदान हुने भएको हो । एमाले कर्णाली अधिवेशन बुधबारबाट शुरू भएको थियो ।

कर्णालीमा अध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै एमाले अधिवेशनअन्तर्गत कोशी प्रदेशमा पनि आजै मतदान हुँदैछ । निर्वाचन तालिका अनुसार बिहान ११ बजेबाट मतदान शुरू हुनेछ ।

कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन्। कोशी अधिवेशन विराटनगरमा शुक्रवारदेखि शुरू भएको थियो ।