एमाले मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ ।
नेकपा (एमाले) प्रदेश कमिटीले जनकपुरधाममा बिहिवार पत्रकार सम्मेलन गरी नारा र लोगो सार्वजनिक गरेको हो ।
मधेश प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा पार्टी सचिव तथा मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराई, पोलिटव्यूरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रूपमा नारा र लोगो सार्वजनिक गर्नुभयो ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा यही असोज २४ र २५ गते हुने मधेश प्रदेश कमिटीको प्रथम अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ । पत्रकार सम्मेलनमा पार्टीका सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले सिङ्गो मधेशको विकास र सामाजिक न्याय कायम गर्नका लागि मधेश प्रदेशमा एमालेको सरकार आवश्यक भएको भन्दै मधेश प्रदेशमा एमालेको आगामी यात्रालाई सफल बनाउनका लागि प्रदेशको अधिवेशन महत्वपूर्ण भएको बताउनुभयो ।