एमाले कर्णाली प्रदेशको अधिवेशन आजबाट : अध्यक्ष ओलीले उद्घाटन गर्नु हुँदै

काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशनको उद्घाटन गर्नका लागि अध्यक्ष केपी शर्मा ओली आज सुर्खेत पुग्दै हुनुहुन्छ।

अध्यक्ष ओली अहिले विहान १० बजे नेपालगञ्ज विमानस्थल हुँदै सुर्खेत जान लाग्नु भएको हो । अध्यक्ष ओलीको सचिवालयका अनुसार उहाँ नेपालगञ्जबाट रत्नराजमार्ग हुँदै सुर्खेतको वीरेन्द्रनगर पुग्ने तयारी छ । नेपालगञ्जबाट करिब १ सय २ किलोमिटरको सडक यात्रा गर्ने चाहना अध्यक्ष ओलीले राख्नु भएको छ । खासगरी कोहलपुर देखि उत्तरतर्फको भौगोलिक जानकारी र जनजीवनको अवस्था बुझ्ने उहाँको चाहनाका कारण पैदलमार्ग रोज्नु भएको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले दिउसो १ बजे वीरेन्द्रनगरमा आयोजना गरिएको प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितीले जनाएको छ । अध्यक्ष ओली सम्बोधन लगत्तै स्थलमार्ग भएर नेपालगञ्ज फर्कने कार्यक्रम छ । उहाँ भोली काठमाडौं फर्कनुहुनेछ ।