एमालेले आज स्वर्गीय नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी गर्दै

काठमाडौं । नेकपा एमालेले संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको स्मृतिमा आज सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दैछ। एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नु हुनेछ। पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन वक्ताका रूपमा हुनुहुन्छ।

त्यस्तै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् नीलाम्वर आचार्य पनि वक्तामा रूपमा रहनु भएको छ।

कोशी प्रदेशमा नेम्वाङको गृहजिल्ला इलाममै गोष्ठी हुने छ। इलाममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ताका रूपमा जाँदै हुनुहुन्छ भने मधेस प्रदेशको जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जाँदै हुनुहुन्छ । गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *