नेकपा गठन गलत नभई ऐतिहासिक आवश्यकता थियो : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताउनु भएको छ। आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले नेकपा गठन गलत नभई ऐतिहासिक आवश्यकता भएको बताउनु भएको हो।

‘नेकपा गठन गलत थिएन ऐतिहासीक आवश्यकता थियो।’ उहाँले भन्नुभयो, ‘हामीले एउटै घोषणा पत्र बनाएर चुनाव लडेका थियौं तर जनमतको बलमा नेकपा बनाएका थियौं। तर, एकता पुष्टि गर्न सकेनौं। नेकपाको एकता जोगाउन नसकेकोमा मलाई पछुतो छ।’
महासचिव पोखरेलले वामपन्थी पार्टी कार्यनीति वा नेताको अन्तर कलहका आधारमा विभाजित हुन नहुने धारणा राख्नुभयो। पार्टी एकताका लागि इमान्दार प्रयास गर्नुपर्नेमा उहाँले पुन: जोड दिनुभयो। उहाँले नेकपाको एकता बचाउन नसक्नुमा पश्चाताप गर्दै वामपन्थी आन्दोलन लक्ष्यतिर उन्मुख हुनका लागि कार्यनीतिका विवादका कारण बेमेल र अन्तरकलहमा आधारित भएर नबहकिइकन जनताको अपेक्षा बमोजिम अघि बढ्न आवश्यक रहेको बताउनुभयो।
उहाँले माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा रोल्पा र रुकुममा तत्कालीन सरकारले दमन गर्दा त्यसको विरोधसहित शान्ति पदायात्राको नेतृत्व आफूले गरेको स्मरणसमेत गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *