एमालेका नेताकार्यकर्तालाई शाही भद्रता सुहाउने कुरा होइनः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाज रूपान्तरण गर्ने नीति र गन्तव्य बोकेर हिँडेको क्रान्तिकारी पार्टीका नेताकार्यकर्ताका लागि शाही भद्रता नसुहाउने वताउँदै पार्टीका नीति, विचार र योजनाका बारेमा बोल्न र विचार विमर्श गर्न आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीको सोमबार पोखरामा सम्पन्न बैठक तथा प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले समाज बदल्नका लागि विचारको विमर्श आवश्यक भएको वताउनुभएको छ ।
उहाँले भन्नुभयो– यथास्थितिवादीहरू नबोले पनि हुन्छ, किनकि उनीहरूलाई समाज बदल्नु छैन । त्यसैले उनीहरूका लागि विचार विमर्श पनि आवश्यक पर्दैन ।
‘नेपाली कांग्रेसका नेताहरू नबोल्दा वा कम बोल्दा पनि काम फत्ते हुने गरेको जस्ता कुराबाट प्रभावित भएर हामी पनि त्यसै गर्दा हुन्थ्यो कि भन्ने सोच नेताकार्यकर्तामा विकास हुनु एमालेलाई क्रान्तिकारी हुनबाट बन्चित गर्ने चिन्तन हो’, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– यदी नेकपा (एमाले)को माध्यमबाट हामी समाज बदल्न चाहन्छौं भने नेकपा (एमाले)का कार्यकर्ताहरू बोल्नुपर्छ, बोल्न सक्नुपर्छ । तबमात्र समाज बदल्न सकिन्छ ।
पार्टीका नेताकार्यकर्ता बोल्न छोडेका कारण बोल्ने सबै भार प्रमुख नेताहरूमाथि आइलागेको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– कमरेडहरू बोल्न शुरु गर्नुस्, नेताहरू कम बोले पनि पुग्छ तर एमालेले बोल्नुपर्छ ।


कतिपय नेताकार्यकर्ता बर्ग विश्लेषण गर्न नसकेर के बोलिराख्या भन्ने गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो– हाम्रा नेता कार्यकर्ताको शाही भद्रता हाम्रो आन्दोलनलाई क्रान्तिकारी धारबाट विचलित गर्ने प्रयत्नका रूपमा प्रकट हुँदै छ । बोल्न छाडेदेखि पार्टीको क्रान्तिकारी स्प्रिट कमजोर भएको छ । त्यस अर्थमा कमरेडहरूले सङ्कल्प गर्नुपर्छ, अब हामी बोल्ने छौं । बोल्नु एउटा क्रान्तिकारीको कर्तव्य हो, नेकपा (एमाले) को कर्तव्य हो ।
हामी नबोलेका कारण समाजका खराव तत्वहरूले रजगज गरिरहेका छन् । पार्टीका पक्षमा, विचारका पक्षमा, अन्याय अत्याचारका विरुद्धमा बोल्नेछौं भन्ने सङ्कल्प गर्यौं भने यही पार्टीले समाज रूपान्तरण गर्न सक्छ । समाज रूपान्तरणको लक्ष्य लिएको पार्टीका नेता कार्यकर्ताको मनोविज्ञानमा रूपान्तरण आवश्यक छ ।
‘हाम्रो पार्टी देश र जनताको पक्षमा काम गर्दागर्दै चौतर्फी आक्रमण र घेराबन्दीको शिकार भयो । हामीलाई कमजोर पार्न चाहनेहरूले यति ठूलो स्वरमा संविधानवादको वकालत गरे कि त्यही हावामा हामीले पनि भन्न थाल्यौं, यसो नगरेको भए हुन्थ्यो,’ महासचिवले भन्नुभयो–बर्गीय राजनीतिको रक्षाका लागि आवश्यकता पर्यो भने संविधानको सीमा मिच्ने बाध्यता पनि आउनसक्छ । हामीले हिजो निरङ्कुश पञ्चायतमा पनि संविधान र कानुनलाई बेवास्ता गर्दै आन्दोलन गरेका थियौं । उहाँले जनताको हित र राष्ट्रको कल्याण सर्वाधिक महत्वको प्रश्न भएको हो तर हामी कताकता परिवर्तनको, क्रान्तिकारिताको बाटो होइन, कानुनको बाटो, संविधानको बाटोलाई महत्व दिएर अलमलिँदै त छैनौं ? भन्नुभयो ।
जनताको बहुदलीय जनवादले संविधानको सर्वोच्चता भनेको र त्यो भनेको क्रान्तिकारी बर्गको हितको सर्बोच्चता हो भन्ने कुरा बुझ्नुपर्ने उहाँको भनाइ छ ।
हामीले आफ्नो वर्ग सत्तालाई कानुनको आधारमा चलाउने प्रतिबद्धता जाहेर गरेका छौं । राष्ट्रको हित र जनताको अभिमतलाई केन्द्रविन्दुमा राखेर, समाजको अग्रगमनलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नुपर्छ । त्यस अर्थमा हामीले संविधानलाई अपरिवर्तनीय मानेका छैनौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *