सूचनाको प्रोपोगाण्डा मात्रै तोडे एमालेलाई कसैले पराजित गर्न सक्दैनः उपमहासचिव ज्ञवाली

सुर्खेत । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चार माध्यममा हुने प्रोपोगाण्डालाई मात्र नियन्त्रण गर्ने हो भने  नेकपा (एमाले)लाई कसैले पराजित गर्न नसक्ने बताउनु भएको छ ।
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागले बिहीवार सुर्खेतमा आयोजना गरेको योजना तर्जुमा विस्तारित बैठकमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो ।
‘अहिले नेपाली समाज अफवाहको सिकार बनिरहेको छ अर्थात मिस इन्फर्मेशन र डिस इन्फर्मेशनले नेपाली समाज निकै आक्रान्त हुन पुगेको छ,’ ज्ञवालीले भन्नुभयो– मिस इन्फर्मेशन र डिस इन्फर्मेशनको घेराबन्दी चलिरहेको छ, यसलाई तोडेर नेपाली समाजलाई सही दिशामा लैजानुुपर्छ ।
उहाँले अहिले एमालेसहित सबै पुराना पार्टी असफल भए भन्दै नेपाली समाजलाई नै बिघटनको दिशातिर लैजाने गरी नैराश्यता छाउने गरी प्रचार भइरहेको भन्दै यसलाई चिर्नुपर्ने बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो–अहिलेको प्रचार शैली गलत मात्रै होइन, आपराधिक योजनाका साथ पनि गरिएको पाइएको छ, आम जनतामा नैराश्यता, एकखालको हतास मनस्थिति निर्माण गरिएको छ, अहिलेको ट्रेण्ड कायम रह्यो भने यसले नेपाली समाजलाई बिघटनको दिशातिर लैजान्छ ।

उहाँले मुलुकलाई सही दिशातर्फ अघि बढाउन भ्रामक सूचनाको घेराबन्दी तोडेर सही सूचना सम्प्रेषण गरेर जानुपर्ने बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले एमाले कमजोर हुँदा मुलुकको राष्ट्रिय स्वाभिमान कमजोर बन्ने गरेको र समृद्धि रोकिएको तथ्यलाई आम नागरिकसम्म पुर्याएर बुझाउनुपर्ने बताउनुभयो ।
‘राष्ट्रिय स्वाभिमानको रक्षाका लागि, समृद्धि र विकाशका लागि, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि, लोककल्याणकारी राज्यको अनुभूति दिलाउनका लागि नेकपा (एमाले)को नेतृत्व यो देशको लागि अनिवार्य छ । यो सत्यलाई अनेक अफवाहमार्फत जनतामा भ्रम फैलाएर सही सूचना पुग्नबाट अवरोध भइरहेको छ, हामीले यो कुरा सवै नागरिकसम्म पुर्याउनुपर्छ,’ ज्ञवालीले भन्नुभयो । उहाँले मुलुकमा रूपान्तरणकारी रणनीतिक योजना एमाले नेतृत्वको सरकारकै पालामा भएको तथ्यलाई समेत सविस्तार चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *