काठमाडौं ! नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमा सत्ता गठबन्धनलाई इङ्कित गर्दै चोटिलो स्टाटस लेख्नु भएको छ। उहाँले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू भएका उल्लेख गर्नु भएको छ।
उहाँले राष्ट्रको गरिमा र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरू गम्भीर हुनुपर्ने बताउनु भएको छ।
यस्तो छ उहाँले लेख्नु भएको स्टाटस – ‘प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम, आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू हुन् । यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरे पनि कम हुन्छ । उक्त घटनाका सन्दर्भमा सत्ता गठबन्धनमा सहभागी दलहरूको बचाउले त्यसबाट नैतिक मूल्यमा भएको क्षतिको भरपाई हुन सक्दैन । राष्ट्रको गरिमा र लोकतत्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरू गम्भीर हुनुपर्यो ।’