सरकारको नीति कार्यक्रम गन्तव्यहीनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको कुनै गन्तव्य नभएको बताउनुभएको छ ।
संसदमा शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि धारणा बनाउन नेकपा (एमाले) संसदीय दलले विज्ञहरूसँग शनिबार गरेको छलफलमा संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले खास–खास विषयलाई सम्बोधन नगरिएको कार्यक्रम अर्थहीन र गन्तव्यहीन भएको बताउनुभएको हो ।
नीति तथा कार्यक्रममा राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता तथा वर्तमान अर्थतन्त्रको अवस्थाका बारेमा कुनै सम्बोधन नगरिएको उहाँको भनाइ छ ।
यसैबीच, पोखरामा शनिबार आयोजित कार्यक्रमाम नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको बताउनुभएको छ ।
नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलले आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले ल्याएको कार्यक्रममा देशको वर्तमान परिस्थितिलाई बेवास्ता गरिएको बताउनुभएको हो ।
देशले भोगेको समस्यालाई पार लगाउने खालको नीति तथा कार्यक्रम नआएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
सरकारले पाँच महिना बित्दा पनि मिनी संसद्का रूपमा रहेको संसदीय समितिलाई सक्रिय बनाउन नसकेको तथा संसदीय सभापति र अध्यक्ष छनोट नगरिँदा ज्येष्ठ सदस्यले सञ्चालन गर्नुपरिरहेको बताउनुभयो । कार्यक्रमलाई नेकपा एमालेकी केन्द्रीय सचिव पद्माकुमारी अर्याल, नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा सङ्गठन विभाग प्रमुख खगराज अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *