केन्द्रीय कमिटी बैठकले आगामी कार्ययोजना निर्माण गर्नेः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन ग्रासरुटका प्रदेशस्तरीय प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्ययोजना निर्माण गरिने वताउनुभएको छ ।

नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको बिहिवार भएको मिसन ग्रासरुट समीक्षा बैठकको समापनका अवसरमा महासचिव पोखरेलले आसन्न केन्द्रीय कमिटी बैठकमा पार्टीका नौवटै प्रदेशका मिसन ग्रासरुटका प्रतिवेदन प्रस्तुत हुने र बैठकले तिनै प्रतिवेदनका आधारमा कार्ययोजना बनाउने वताउनुभयो ।

मिसन ग्रासरुटका क्रममा पत्ता लागेका समस्या र सुझावको जगमा कार्ययोजना बनाइने वताउँदै महासचिव पोखरेलले कार्ययोजनाको लक्ष्य ‘मिसन–२०८४’ हुने र पार्टीले २०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी योजनाबद्ध ढङ्गले काम गरिने स्पष्ट गर्नुभयो ।
त्यसका लागि नेकपा (एमाले) सामाजिक र जनसरोकारका मुद्दामा सबैभन्दा अगाडि देखिनुपर्ने कुरामा जोड दिँदै महासचिव पोखरेलले एमालेलाई समाज परिवर्तनको नेता पार्टी बनाउन कार्यकर्तालाई वैचारिक, राजनीतिक र विषयगत प्रशिक्षण दिइने पनि वताउनुभयो ।

पार्टीमा नयाँ र युवा पुस्तालाई जोड्ने काम प्राथमिकताको विषय बन्नुपर्ने वताउँदै महासचिव पोखरेलले भन्नुभयो– अवसर र सम्भावनाको खोजीमा विभिन्न जिल्लाका लाखौं युवाहरू राजधानीमा रहेको छन् । ति युवालाई पार्टीमा जोड्न सम्पर्क कमिटी र मञ्चहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सम्पर्क कमिटीको काम प्रभावकारी हुँदा त्यसको प्रभाव देशैभरि पर्ने उहाँले वताउनुभयो ।
महासचिव पोखरेलले नेकपा (एमाले) को नेतृत्वको सरकारका पालामा गर्व गर्न लायक काम भएका र पार्टी कार्यकर्ताले ति काम जनतामा पुर्याई हामी अन्य दलभन्दा फरक हौं/छौं भन्न सक्नुपर्ने वताउनुभयो ।
नेकपा (एमाले) सबै कुरामा अब्बल रहेको वताउँदै महासचिव पोखरेलले पार्टीको पक्षमा पैरवी गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले चारबर्षमा एमालेमाथि प्रश्न गर्ने होइन, मान्छेले खोज्ने पार्टी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *