मधेश प्रदेशमा एमालेको समीक्षा बैठक जारी

काठमाडौं । नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को आजदेखि मधेश प्रदेशको समीक्षा जारी छ ।
बिहिवार पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा महोत्तरीको बर्दिवासमा भइरहेको समीक्षा बैठकमा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पार्टीका सचिव तथा मिसन ग्रासरुटको मधेश प्रदेशका संयोजक रघुवीर महासेठ, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका नेताहरू लगायतको उपस्थिति रहेको छ ।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले सम्वोधन गर्नुभएको थियो । उहाँले पार्टीभित्र देखापरेको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता अन्त्य गर्न सहयोग पुग्ने विश्वासका साथ मिसन ग्रासरुट सञ्चालन गरिएको वताउनुभयो । अभियानका क्रममा पार्टीका कमिटीहरू स्थानीय तह, वडा र टोलसम्म विस्तार गरिएकाले यसले पार्टीलाई सुदृढ बनाउन मद्दत पुग्ने वताउनुभयो ।
बिहिवारको समीक्षा बैठकमा पाँच जिल्ला पर्सा, सप्तरी, बारा, सिरहा र सर्लाहीका पार्टी अध्यक्ष र मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधिहरूले अभियानका क्रममा भएका कामको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । नेकपा (एमाले) मधेश प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा  भएको बैठकमा शुक्रबार महोत्तरी, धनुषा र रौतहटका जिल्ला अध्यक्ष र केन्द्रीय प्रतिनिधिहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुहुने वताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *