ओलीले संसद विघटन गर्नु जायज : महासचिव पोखरेल

काठमाडौं ! नेकपा (एमाले)का नवनिर्वाचित महासचिव शंकर पोखरेलले एमालेले राजनीतिक मुद्दालाई जनताको विषयवस्तु बनाउन चाहेकाले संसद विघटन गरेको बताउनु भएको छ । सोमबार काठमाडौमा अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सत्ता गठबन्धनले राजनीतिक मुद्दालाई अदालतको विषय बनाइरहेको आरोप लगाउनु भयो ।

पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने फैसला उचित भएको दावी गर्दै उहाँले नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुनै नसक्ने जिकिर गर्नुभयो। ‘नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुन्छ ?’, महासचिव पोखरेलको प्रश्न थियो ।

उहाँले कुनैपनि मुद्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको भन्दै त्यो नै संसदीय प्रजातन्त्रको विशेषता भएको बताउनु भयो । उहाँले त्यस्तो फैसलाविरुद्ध मुद्दा मामिला गर्दै राजनीतिको विषयलाई अदालतमा लैजानेहरू लोकतन्त्रका विरोधी रहेको बताउनु भयो ।

‘किनकि राजनीतिको सर्वेसर्वा राजनीतिक दलहरु हुन् अदालत होइन’ पोखरेलको भनाइ छ । तर उहाँले नेपालको राजनीतिक मुद्दाका हरेक विषय अदालतमा लगेर विवादमा पार्ने काम गरेको आरोप लगाउनु भयो । ‘कसका तर्फबाट ? आज सरकारमा रहेका पार्टीहरूका तर्फबाट त्यस्तो काम भएको छ । गठबन्धनका तर्फबाट हरेक राजनीतिक मुद्दालाई अदालतको विषयवस्तु बनाउने काम भएको छ’, पोखरेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *