एमाले उपाध्यक्ष पौडेलको प्रधानमन्त्रीलाई प्रश्न – विश्वासको मत लिने तपाइँको अर्को कार्यसूची कहिले हो?

काठमाडौं– नेकपा एमालेले प्रतिनिधि सभामा प्रधाननमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ भनी प्रश्न गरेको छ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डमाथि यसको जवाफ माग गरेका हुन्। उनले पुस १० गते एमालेसँग सरकार बनाउँदै गर्दा र त्यहाँ दिएको वचनको बारेमा पनि प्रश्न गरे।

‘यसअघि प्रधानमन्त्रीले पुस २६ गते  विश्वासको मत प्राप्त गर्नु भएको थियो। तर, त्यसको दुई महिनामै किन विश्वासको मत लिनुपर्ने भएको छ?’ निवर्तमान अर्थमन्त्री समेत रहेका पौडेलले भने, ‘हरेक एक–एक र दुई–दुई महिना विश्वासको मत लिने हो भने हामी कता जाँदैछौं। अब प्रश्न सोध्न चाहन्छु– अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ?’

उनले अहिले क्षण–क्षणमा विश्वासको मत लिनुपर्ने भएको भन्दै फेरि महिनादिन पुग्दा नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था त आउने हैन?  भन्दै प्रश्न गरे। पौडेलले राष्ट्रिय सहमतिको नाममा नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भनिरहँदा त्यसअघि एमालेसँग दिएको वचनका बारेमा उनले प्रश्न गरे।

‘कांग्रेसको उम्मेदवार राष्ट्रिय सहमतिको नाममा अघि सार्नु भयो। तर, उहाँले पुस १० गते  नेपाली कांग्रेस पनि नेपाली दल छ भन्ने थाहा पाउनु भएन?’, पौडेलको प्रश्न छ, ‘के त्यस्तो परिस्थिति पर्‍यो?  के कारण पर्‍यो? देशको कार्यकारीको निर्णयमा विश्वसनियता हुँदैन भने देश र अन्तर्राष्ट्रियस्तरमा के प्रभाव पर्ला?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *