रासायनिक मलमा गरिएको मूल्य फिर्ता गर्न एमालेको माग

काठमाडौं ! नेकपा (एमाले) ले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। एमालेको कृषि तथा पशुपन्छी विकास विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

अन्तर्राष्ट्रियरूपमा रासायनिक मलको मूल्य घटिरहेको बेला नेपालमा भने बढाउनु अनुचित रहेको उनले बताए। सरकारले रासायनिक मलको मूल्यवृद्धिले कृषि क्षेत्रलाई कमजोर बनाउन खोजेको उनको भनाइ थियो।

‘मलको मूल्य बढाएर सरकारले कृषि क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिएको देखिन्छ। मलको मूल्यवृद्धि अविलम्ब फिर्ता लिनुपर्दछ। स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न सरकारले जोड दिनुपर्दछ,’ उनले भने।

मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा पार्ने गरी गरिएको निर्णय गैरजिम्मेवारपूर्ण रहेको उनको भनाइ छ।

विभागका प्रमुख गिरधारीलाल न्यौपानेले रासायनिक मलमा दिइँदै आएको अनुदान समेत कटौती गरेर मलमा अस्वाभाविक मूल्यवृद्धिले खाद्यान्न आयातमा सरकारले प्रोत्साहन गर्न खोजेको बताए।

‘सरकारको निर्णयानुसार युरियामा प्रतिकेजी रु ११, डिएपीमा रु ७ र पोटासमा रु ९ ले मूल्यपृद्धि भएको छ। यसको प्रत्यक्ष मार नेपालमा कडा परिश्रम गरिरहेका नेपाली किसान र आम उपभोक्तामा पर्न गएको छ। एकातिर भारतबाट ठूलो मात्रामा कृषि उपजको आयात हुने र अर्कोतिर रासायनिक मलको मूल्यवृद्धि गरी उत्पादन लागत झन् बढाई उत्पादन लागतमा थप वृद्धि हुन पुगेको छ,’ उनले भने।

मूल्यवृद्धिले किसानहरू उत्पादन कार्यबाट विमुख हुने र अत्यधिक उत्पादन लागतका कारणले देशको राष्ट्रिय उत्पादनमा नकारात्मक असर पर्न गई आम श्रमजीवी जनता खाद्य सुरक्षा तथा खाद्य अधिकारबाट वञ्चित हुने उनले बताए।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *