प्रचण्ड देशकाे पक्षमा उभिन नसक्ने अवस्थामा पुगे : महासचिव पोखरेल

काठमाण्डाै ! नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएकाे छ । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र नागरिककाे पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन गर्न पुग्नुपरेको उहाँकाे तर्क छ ।

२४ औँ यदु स्मृति दिवसको अवसर पारेर आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पाेखरेलले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य नै नभएको दाबीसमेत गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरूले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि उहाँले त्यसलाई धान्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीभित्रको अन्तरसङ्घर्षमा सही कुरालाई निषेध गर्दा के हुँदो रहेछ भन्ने कुरा सायद आज प्रचण्डले बेहाेरिरहेका पीडाहरू त्यसैसँग जोडिएका छन् भन्ने मलाई लाग्दछ । एउटा क्रान्तिकारी, जसले देशको स्वाधीनता, साम्राज्यवाद, सामन्तवादविरुद्धको नेतृत्व गर्‍याे तर आज देशको बारेमा फैसला गर्नुपर्दा चाहिँ उभिन सक्ने अवस्थामा छैन । उग्रवामपन्थी अतिवादका कारणले गर्दा, मानवताविरुद्धको अपराधका कारणले गर्दा ऊ यति कायर बनेको छ कि ऊ देशको पक्षमा उभिन सक्दैन । नागरिककाे पक्षमा उभिन सक्दैन । शक्ति सङ्घर्षमा बडा चलाखीका साथ नेतृत्व प्राप्त त गरेको छ तर देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य छैन । किनकि विगतमा अवलम्बन गरेको बाटो गलत थियो भन्ने कुरा त्यो कायरताले प्रकट गर्छ भन्ने मलाई लाग्दछ । कुनै पनि आन्दोलन सही हुन्थ्यो भने एउटा नेता कायम हुने थिएन ।’

महासचिव पोखरेलले विदेशी चलखेलका कारण देशमा नयाँ समीकरण बनेको भन्दै त्यो राष्ट्र र नागरिककाे पक्षमा नरहेको पटक–पटक दोहोर्‍याउनुभयाे । उहाँले देशलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरूबीच बलियो सहकार्यको आवश्यकता रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *