नेकपा (एमाले) ले ३ महिना पार्टी प्रवेश अभियान सञ्चालन गर्ने

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ महिना पार्टी एकीकरण अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। १०औं महाधिवेशन समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न पार्टीका कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन अभियान नै सञ्चालन गर्ने बताउनु भयो।

‘अबको तीन महिना पार्टी प्रवेश अभियान सुरु हुन्छ,’ ओलीले भन्नुभयो। पार्टीले नेता नभई कार्यकर्ता भित्र्याउनुपर्नेमा अध्यक्ष ओलीको जोड थियो। ‘पार्टी पार्टी भेला गरेर हुँदैन,’ ओलीले भन्नुभयो, ‘कार्यकर्ता भेला गर्नुपर्छ। यो अभियानबाट पार्टीलाई माथि उठाइन्छ।’ यो अभियान भने आगामी केन्द्रीय कमिटी बैठकले तय गर्ने ओलीले जानकारी गराउनु भयो।

पार्टीको १०औं महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै ओलीले १०औं महाधिवेशनका क्रममा पार्टीका नेतालाई उक्साउन विरोधीले गरेको षड्यन्त्र सफल नभएको दाबी गर्नुभयो।

पार्टीमाथि आन्तरिक र बाह्य दुवै षड्यन्त्र भइरहेको ओलीले उक्त कार्यक्रममा बताउनु भयो। ‘विरोधीहरूले भडकाइरहेका र उक्साइरहेका थिए,तर शान्त र एकताबद्ध भएर हामीले विरोधीलाई सफल हुन दिएनौं।’ पार्टीका नेता/कार्यकर्ता हल्का भएर गैरजिम्मेवार भएर नचल्ने उहाँले बताउनु भयो। सोही अवसरमा उहाँले केन्द्रीय कमिटीको बैठकको मिति पनि घोषणा गर्नुभएको छ। यहि मंसिर २५ गते कमिटिको दोस्रो बैठक बस्ने जानकारी समेत दिनुभयो।

यस्तै, नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई नेताको व्यवहार देखाउन निर्देशन दिनुभयो। ‘घमण्ड र अहंकार छोडनुहोस्,’ अध्यक्ष ओलीको निर्देशन थियो, ‘अहंकारी नेता हुँदैन र नेता अहंकारी हुँदैन।’ पुराना केन्द्रीय सदस्यहरूले नयाँ केन्द्रीय सदस्यलाई काम र व्यवहार गर्ने तौरतरिका सिकाउनुपर्ने ओलीले बताउनु भयो। त्यसअघि नवनिर्वाचित ओलीले पद तथा गोपनियताको शपथ खानु भएको थियो। उहाँलाई निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले शपथ गराउनु भएको थियो। त्यसपछि ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको थियो। अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भीम रावलले भने शपथ खानु भएन। उहाँ ले केन्द्रीय सदस्य पद अस्वीकार गर्नुभएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *