पार्टी महाधिवेशनको प्रचारमा एमालेले देशभर मोटरसाइकल र्‍याली गर्ने, सबै जिल्लामा स्वागतद्वार अनिवार्य

काठमाडौं ! नेकपा एमालेको १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारका लागि जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताउनु भयो । र्‍याली यही मंसिर ७ गते हुनेछ ।

महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको बताउनु भयो ।

उहाका अनुसार मङ्सिर १० गते १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागिएको हो । बागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्‍यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो ।
मङ्सिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक जिल्ला एक स्वागतद्वार निर्माणमा जोड दिइएको उहाले बताउनु भयो ।

पूर्व–पश्चिम, उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिका, मुख्य बजारमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ ।
एमालेले महाधिवेशनमा कुनै पनि भित्तेलेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने संयोजक भट्टराईले बताउनु भयो।प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अङ्ग्रेजीलगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको उहाले बताउनु भयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *