काठमाडौं : प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ सांसद टुंगो लगाउन नेकपा (एमाले)को सचिवालय बैठक जारी छ। एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२ बजेबाट बसेको बैठकले आज महत्त्वपूर्ण निर्णय गर्दैछ।
बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिनेछ। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ।
एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट जितेको छ। यसैगरी एमालेले लोकप्रिय मत ल्याएर समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। एमालेका शीर्ष नेताहरू समानुपातिकतर्फको सांसद चयन गर्न आन्तरिक गृहकार्यमा जुटेका छन्। शुक्रबार बालकोटमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्षस्थ नेताहरूबीच छलफल भएको थियो।
दलहरुले आज दिउँसो ४ बजेसम्म समानुपातिक सांसदको नाम निर्वाचन आयोगलाई बुझाइसक्नुपर्नेछ।