काठमाडौ ! नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना खारेजीको माग गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गर्नुभएको छ ।
सांसद पालले पार्टीभन्दा माथि देश र राष्ट्रिय स्वाधिनता माथि हुने बताउँदै एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा किन राष्ट्रिय सहमति गर्न आवश्यक पर्यो भन्दै प्रश्न गर्नुभयो । उहाले भन्नुभयो– ‘एमसीसीले तयार पारेको प्रस्तावनामा नेपाल सरकारले छलफल गर्न, व्यवस्था बुझ्न, स्पष्टिकरण सोध्न समेत पाउने छैन् ।
एमसीसीमा भएको कानुन नेपालको संविधानसँग बाझिएमा नेपालकै कानुन लागू हुनुपर्ने हैन र दुबै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ, एमसीसी परियोजनाले मागेको भूभाग र अन्य संरचना कानुनी रुपमा हस्तान्तरण गर्न माग गरिएको छ ।’
सांसद पालले थप्नुभयो– ‘यदि एमसीसी संसदबाट पारित भएको खण्डमा नेपाल सरकारले यसबारे कुनै जानकारी लिन चाहेमा एमसीसीबाट अनुमति लिनुपर्नेछ । यिनै आधारहरू काफी छैनन् र ? देशका लागि भन्दै सहायताका नाममा बाह्य हस्तक्षेप कुनै हालतमा स्वीकार्य छैन ।’