घोषणापत्रका २० ग्यारेन्टीको सुनिश्चित भुक्तानीः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणापत्रमार्फत पार्टीले सार्वजनिक गरेका २० ग्यारेन्टीको भुक्तानी एमालेले नेपाली जनतालाई सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
मंगलबार पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोजित ‘एमालेको चुनावी घोषणापत्रः ओलीसँग लाइभ डिवेट’ कार्यक्रममा  अध्यक्ष ओलीले सो प्रतिवद्धता जनाउनुभएको हो ।
‘मंसिर ४, एमाले सरकार’ मुख्य नाराकासाथ घोषणापत्रमा उल्लेख गरिएका २० ग्यारेन्टी कसैलाई झुक्याउने र छक्काउने विषय नभएको बताउनुभयो । एमालेले जारी गरेको घोषणापत्रका २० कामको ग्यारेण्टी नेपाल राष्ट्र बैंकले जारी गरेका नोट जत्तिकै हुने वताउँदै अध्यक्ष ओलीले मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बनेमा पाँच वर्षमा अहिले गरिएका सबै ग्यारेन्टीको भुक्तानी दिने वताउनुभयो ।

पाँच वर्षमा देशलाई भ्रष्टाचारमुक्त देश बनाउने प्रतिवद्धता जनाउनुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, “नेतृत्वमा प्रतिवद्धता भयो भने भ्रष्टाचार अन्त्य सम्भव छ, वचनले होइन व्यवहारमा देखाउँछौं ।” पाँच वर्षभित्र पूर्वाधार विकासको आधारभूत संरचना तयार गरिसक्ने अध्यक्ष ओलीको भनाइ छ ।दुई वर्षभित्र मुलुकलाई साक्षर बनाएर मुलुकमा प्रविधिको विकास गरी आत्मनिर्भर नेपाल निर्माण गर्नमा एमाले सक्षम रहेको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “अहिलेकोजस्तो परम्परागत शैलीले देशको विकास सम्भव छैन, नीतिगत सुधार, प्रशासनिक सुधार गरेर युद्धस्तरमा काम गरेमा मात्र देशले आर्थिक, प्रशासनिक र नीतिगतरुपमा कोल्टे फेर्छ, त्यसका लागि एमाले नेतृत्वको सरकार सक्षम हुन्छ ।”

यसअघि करिब दुई तिहाई सरकारको नेतृत्व गर्दा पनि काम हुन नसकेको भन्ने जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, “२०७४ को निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो, समानुपातिकतर्फ ४१ गरी १२१ सिट थियो, सरकार बनाउन कम्तिमा १३८ सिट चाहिन्थ्यो । अरु पार्टीलाई ल्याएर जोरजाम गरी बहुमत बनाइएकाले सोचेकोजस्तो काम गर्ने वातावरण बनेन ।” अध्यक्ष ओलीले जसरी हुन्छ एमाले छोडेर, तोडेर जानेहरुका कारण सरकार टिकाउन नसकिएको स्पष्ट गर्नुभयो ।
मंसिर ४ को निर्वाचनबाट एमाले एक्लैलाई बहुमत प्राप्त भएमा पाँच वर्षमा मुलुकलाई आर्थिक समृद्धिको पथमा लग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । त्यो क्षमता र काम गर्ने शैली आफूसँग भएको उहाँले प्रष्ट पार्नुभयो ।
यसअघि २०७४ को निर्वाचनपछि बनेको एमाले नेतृत्वको सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन विकासको अभियान शुरु गरेको र त्यसलाई पूर्णता दिन अव फेरि पाँचवर्षे एमाले नेतृत्वको सरकारको अपरिहार्यता रहेको अध्यक्ष ओलीको भनाइ छ । ४१ महिना सरकारमा रहँदा आफूले आर्थिक समृद्धिको जग राख्ने काम गरेको उहाँले वताउनुभयो ।
देशमा उद्यमशीलताको विकास गरेर रोजगारी बढाउने र वार्षिक पाँच लाखलाई रोजगारी प्रदान गर्ने नीति एमालेले लिने उहाँले बताउनुभयो । युवा जनशक्तिलाई विदेशमा होइन, स्वदेशमै परिश्रम गर्ने वातावरण बनाउने अध्यक्ष ओलीको प्रतिवद्धता छ । पूर्वाधारको विकास विना, ठूला आयोजनाको विकास विना र उद्योगको विकास विना रोजगारी सिर्जना नहुने हुनाले त्यसको विकासमा ध्यान दिने उहाँको भनाइ छ ।

नेपालीलाई सक्षम बनाई विश्व प्रतिस्पर्धामा खरो उतार्नेगरी जनशक्ति निर्माण आवश्यक रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले एमालेलाई एकल बहुमत आएमा बन्ने पाँच वर्षे सरकारले देशलाई अल्पविकसित देशबाट विकासशील देशमा उभ्याउने प्रतिवद्धता जनाउनुभयो । अहिले राज्य संयन्त्रको व्यापक दुरुपयोग भएको, भ्रष्टाचारमा मुलुक व्याप्त भएका कारणले देशले आर्थिक रुपमा फड्को मार्न नसकेको उहाँको भनाइ छ ।
देशको नेतृत्व गर्नेले देश र जनताको पक्षमा काम गर्नुपर्छ, आफन्त परिवार र आफ्नो निकटको पक्षमा होइन अध्यक्ष ओलीले थप्नुभयो, “युवालाई पैतृक सम्पत्तिमा रमाउने होइन, आफ्नो खुट्टामा आफै उभिने र देशको पक्षमा काम गर्नेगरी सक्षम बनाउनुपर्छ ।”
राज्य भनेको जनताको सेवक भएकाले जनताको हित नै केन्द्रमा राखेर आफूले काम गरिरहेको उहाँले बताउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष ओलीले नेपालको गुमेको भूभाग समेटेर नयाँ नक्सा जारी गरिएको र भूभाग  फिर्ताका लागि एमाले नेतृत्वको सरकार अनिवार्य रहेको बताउनुभयो । संसदबाट सर्वसम्मत रुपले पारित भएर बनाएको नयाँ नक्सामा समेटिएको भूभाग नै आजको नेपाल भएको उहाँले प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीसँग बैंकर अनिल केशरी शाहले डिवेटमा सहजीकरण गर्नुभएको थियो । शाहले एमालेले आगामी मंसिर ४ गतेका लागि जारी गरेको निर्वाचन घोषणापत्र र २० ग्यारेन्टी विषयको कार्यान्वयनका विषयमा अध्यक्ष ओलीसँग जिज्ञासा राख्न्भएको थियो ।
सोहीअनुसार कार्यक्रममा सहभागी पत्रकारहरुले पनि अध्यक्ष ओलीलाई चुनावी घोषणापत्रको कार्यान्वयन र पाँच वर्षमा गर्ने भनिएको प्रतिवद्धताको विषयमा जिज्ञासा राख्नुभएको थियो । जिज्ञासामा अध्यक्ष ओलीले सबै प्रतिवद्धता कार्यान्वयनमा आउने तर एमालेको एकल बहुमतको सरकार अपरिहार्य हुने जवाफ दिनुभयो ।
उहाँले मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) भएको र आगामी निर्वाचनमा एमाले बाहेक कसैले पनि बहुमत ल्याउन नसक्ने हुँदा ५१ प्रतिशत भोट एमालेलाई दिन जनतालाई आग्रह गर्दै अध्यक्ष ओलीले एमाले बहुमत हासिल गरी देश विकास गर्ने मिसनमा रहेको र दिनहुँ एमालेमा प्रवेश चलिरहेकाले पनि एमालेले शानदार बहुमत ल्याउँछ भन्ने कुरामा आफ्नो दृढ विश्वास रहेको वताउनुभयो ।
अध्यक्ष ओलीले डिजिटल माध्यमबाट ‘फिङ्गर स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *