एमालेले प्रत्यक्षतर्फ कम्तिमा १०५ सिट जित्छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय बढी सिट जित्ने दाबी गर्नुभएको छ । उहाँले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी व्यक्त गर्नुभयो ।

शुक्रबार गृहजिल्ला झापा पुग्नुभएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ।’

अध्यक्ष ओली आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिनुभयो ।

अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो। अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि।’

झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ। झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् भने झापा–५ मा ओली उम्मेदवारका रूपमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *