एमालेले प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारहरुको नाम भोलि सांझसम्ममा सार्वजनिक गर्नसक्ने : सत्ता गठबन्धन अलमलमै

काठमाडौं ! आसन्न प्रतिनिधि सभा र प्रदेशसभाका लागि उम्मेदवारी मनोनयन दर्ताको दिन नजिकिएसँगै प्रमुख राजनैतिक दलहरुले आफ्ना उम्मेदवारहरु टुंग्याउन अन्तिम कसरतमा छन् । प्रमुख प्रतिपक्षी दलले आफ्ना उम्मेदवारहरु सचिवालय बैठक मार्फत लगभग टुंगो लगाएपनि गोपनियता भन्दै उम्मेदवारहरुको नाम हालसम्म सार्वजनिक गरेको छैन भने सत्ता गठबन्धन दलले भने हालसम्म सिट बाँडफाँटको टुंगो लगाइसकेको छैन ।

निर्वाचन आयोगको तालिका अनुसार राजनैतिक दलले असोज २२ र २३ गते प्रत्यक्ष तर्फका उम्मेदवारहरुको उम्मेदवारी दर्ता गर्नुपर्छ। उक्त समयलाई ध्यानमा राखी एमालेले आफ्ना उम्मेदवारहरु लगभग टुंग्याइसकेको र आज र भोलिमा यसलाई अन्तिम रुप दिन आन्तरिक छलफलमा जुटेको स्रोतले जनाएको छ। गत सचिवालय बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएको हुनाले अध्यक्ष ओलीले अन्य शिर्ष नेताहरुसँग र संबंधित प्रदेशका नेताहरुसँग अन्तिम छलफल गरेर सम्भवतः भोलि साँझसम्ममा आफ्ना उम्मेदवारहरु सार्वजनिक गर्ने रणनीतिमा जुटेको जनाइएको छ। उता सत्ता गठबन्धन भने सिट बाँडफाँटमा सहमति जुटाउन अन्तिम कसरतमा छ भने यदि सहमति नहुने अवस्थामा स्वस्थ प्रतिस्पर्धामा जाने विकल्पका रुपमा छलफल गरिरहेको स्रोतले जनाएको छ। कमजोर जगबाट गठबन्धन बनेको हुनाले गठबन्धनमा सहमति हुने संभावना न्यून रहेको जानकारहरु बताउँछन,जसको भरपुर फाइदा एमालेले लिनसक्ने आकलन पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *