नेकपा एमालेको वडा अधिवेशन सुरु, लोकतन्त्रका नाममा छाडातन्त्र नचाहेको अध्यक्ष ओलीको भनाइ

काठमाडौं । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत मुलुकभर वडास्तरका अधिवेशन सुरु भएको छ ।केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका वडा अधिवेशन उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिनुभयो ।

देशलाई अस्थिरतामा धकेल्ने काम भइरहेको भन्दै अध्यक्ष ओलीले कम्युनिष्ट सरकार ढाल्ने प्रतिगामी गतिविधिविरुद्ध डटेर सामना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको जिकिर गर्दै पार्टीका सम्पूर्ण क्रियाकलाप लोकतान्त्रिक हुने बताउनुभयो । तर, लोकतन्त्रका नाममा छाडातन्त्र आफूले नचाहेको पनि उल्लेख गर्नुभयो ।

पछिल्लो समय कमिटी निर्माणका क्रममा पार्टीभित्र अनुशासनहीनता देखिए पनि अब त्यो अन्त्य हुने अध्यक्ष ओलीको भनाइ छ । एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त भयो भनेर हल्ला चलाइएको भन्दै उहाँले अबको चुनावमा एक्लै बहुमत ल्याउने जिकिर गर्नुभयो ।

अधिवेशनले गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन बन्नेछ ।

६ हजार बढी वडाले आजै नेतृत्व पाउने एमालेले जनाएको छ । हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुनेछ । एमालेको दशौं महाधिवेशन मंसिर आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *