एमालेले भूमिसम्बन्धी नीति निर्माण गर्ने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ ।
विभागको विहीबार बसेको बैठकले बार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरूसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीति र पार्टीको आगामी कार्यभार तथा विभागको काम, कर्तव्य र अधिकारका बारेमा निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो ।
महासचिव पोखरेलले विभागका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । विभागका उपप्रमुख भीम कार्कीको अध्यक्षतामा बसेको बैठकले बार्षिक कार्ययोजनाको प्रमुख कामका रूपमा भूमिसम्बन्धी नीतिपत्र तयारी र प्रकाशनलाई लिएको छ । बैठकले भूमिसम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।
त्यस्तै, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सरकारले गठन गरेको भूमिसम्बन्धी आयोगले गरेका कामको अभिलेख तयार गरी तिनलाई जनतासम्म पुर्याउने योजना विभागले बनाएको छ । त्यसैगरी, वर्तमान गठबन्धन सरकारले भूमिसम्बन्धी गरेका कामको पनि अध्ययन गरी अभिलेख तयार गर्ने भएको छ ।
बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा पार्टीले तयार गर्ने घोषणापत्रका लागि सुझाव प्रस्तुत गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *