गठबन्धन सरकारले चुच्चे नक्सा गायब पार्‍यो : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमान माथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको पनि बताउनुभयो ।

उहाँले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताउनुभयो । उहाँले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्शाको बारेमा कुनै वाक्य बोल्न नसकेको बताउनुभयो

वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमा-बाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाउनुभयो ।

उहाँले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हीत, स्वाभिमान विपरित रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरु गरिरहेको भन्दै निन्दा र भत्र्सना गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दावी गर्नुभयो । उहाँले राष्ट्रिय विकास र समृद्धिको योजनमा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताउनुभयो ।

उहाँले रणनीतिक महत्वका सडकहरु केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले चुच्चे नक्शा मेटाइ अपराधपूर्ण काम गर्ने कोही व्यक्तिलाई पनि स्विकार गर्न नसकिने बताउनुभयो । मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक विकास र समृद्धि हुन नसक्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका हकहित, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *