नेकपा एमालेको विधान महाधिवेशनः ७ ठाउँमा डिजिटल प्रचार, ६ हजार प्रतिनिधि बसले ओसार्ने

काठमाडौ ! काठमाडौँका विभिन्न ७ ठाउँमा डिस्प्ले राखेर नेकपा एमालेको विधान महाधिवेशनको प्रचार गरिने भएको छ।
असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरी सनराइज केन्द्रमा हुन लागेको सम्मेलनको प्रचारप्रसारका लागि सिनेमा हलको पर्दाजत्रै डिजिटल डिस्प्ले बोर्ड राखिने विधान सम्मेलन प्रचारप्रसार कमिटीका संयोजक खिमलाल भट्टराईले सभ्यखबरलाई जानकारी दिनुभयो।

काठमाडौँका थापाथली, दरबारमार्ग, हात्तीसार, चाबहिल, कालीमाटी, चुच्चेपाटी र तीनकुनेमा रहेका डिजिटल बोर्डमा बिहान २ घण्टा र साँझ ३ घण्टा प्रसारप्रसारको व्यवस्था मिलाइएको उहाँले भन्नुभयो।
विधान सम्मेलनको भिडिओ, महाधिवेशनको लोगो, अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुको तस्बिर डिजिटल डिस्प्लेमा देखाइनेछ।

‘विज्ञापनजस्तो बनाएर विधान महाधिवेशनको प्रचारको व्यवस्था मिलाइएको छ,’ भट्टराईले सभ्यखबरसँग भन्नुभयो, ‘अडियो हुँदैन तर, भिडिओ रोल चाहिँ भइरहन्छ। सातै ठाउँमा एकैसाथ प्रसारण गर्न मिल्ने बनाइएको छ।’
उहाँका अनुसार असोज १४ गतेदेखि सम्मेलन समापन हुने १७ गतेसम्म सो डिजिटल डिस्प्ले राखिनेछ।
‘उद्घाटन सत्रको लाइभ प्रसारण गर्नेछौँ, अरु बेला विधान सम्मेलनका मुख्यमुख्य झलक रेकर्ड देखाउँछौँ। सम्मेलनमा पुग्न नपाएका साथीहरुलाई हेर्न सहज बनाउने प्रयास जारी राखेका छौँ,’ भट्टराईले भन्नुभयो।
एमालेले पहिलो पटक गर्न लागेको विधान महाधिवेशन भएकोले देशभरबाट कति संख्यालाई सहभागी गराउने विषय टुंगो लागेको छैन।
‘हिजोसम्म ५ हजार भनिएकोमा आजबाट फेरि ६ हजार प्रतिनिधि पुग्ने भइसके,’ भट्टराईले प्रतिनिधि अटाउने जुक्तिबारे भने, ‘३ हजार हलमा अट्छ। त्यसको साइडमा रहेको दुईवटा प्यासेजमा कुर्सी राखेर १/१ हजार अट्ने व्यवस्था मिलाउन सकिने रहेछ। हलको पछाडिपट्टि बाल्कोनी पनि छ। मुख्य हलबाहिर रहेकालाई हलभित्रको गतिविधि प्रत्यक्ष देखाउन फ्ल्यास बोर्ड हुन्छ। ६ हजार संख्यालाई असुविधा नहुनेगरी डिजिटल फ्ल्यास बोर्ड राख्छौँ।’
सबैलाई बिहान ९ देखि ११ बजेसम्म खाना खुवाउने प्रबन्ध मिलाइएको छ।
खानाका लागि हलबाहिरको चौरमा क्याटरिङको व्यवस्था मिलाइएको उनको भनाइ छ।
‘सम्मेलनमा प्रतिनिधि सबैलाई बिहान ९ देखि ११ सम्म खाना, दिउँसो प्याकेटमा खाजा र ५ बजे कार्यक्रम समापन गरिन्छ, हरेक दिन बिहान ११ देखि ५ बजेसम्म कार्यक्रम हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *