एमालेले एक्लै चुनाव लड्छ, जितेर बहुमतका साथ एकल सरकार बनाउँछ : सचिव अर्याल

काठमाडौं ! एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले आगामी आम निर्वाचनमा ५ दलीय गठबन्धनको डटेर सामाना गर्ने बताउनु भएको छ । पार्टीको गण्डकी प्रदेश कमिटी तथा प्रचार तथा प्रकाशन विभागले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा सचिव अर्यालले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सबै दलको गठबन्धनको दृढताका साथ सामना गर्ने बताउनु भयो ।

उहाँले आगामी निर्वाचनमा एक्लै भिड्ने र एकल सरकार बनाउने बनाउने योजनाका साथ अगाडि बढ्नुपर्ने खाँचो औंल्याउनु भयो । उहाँले एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने दृढता व्यक्त गर्नुभयो ।

अहिलेको गठबन्धन समग्र विकास तथा मुलक बनाउनका निम्ति नभई एमालेलाई हराउने उद्देश्यसहित बनेको उहाँले ठोकुवा गर्नुभयो । सचिव अर्यालले अहिलेको सरकार इतिहासको नै असफल र नालायक भएको आरोप लगाउनु भयो । ‘एमाले जनतामा आधारित पार्टी हो । एमाले कमजोर भए कोही कसैले गठबन्धन गर्नुपर्ने थिएन,’ उहाँले भन्नुभयो, ‘एमालेसँग एक्लै भिड्ने सामथ्र्य कसैले राख्दैन । गठबन्धन गर्दा पनि यिनको मुटु काँपेको छ ।’

उहाँले वर्तमान सरकारले मतपेटिका लुट्न मिल्ने गरी मतदान केन्द्र सारेको आरोप लगाउनु भयो । सचिव अर्यालले सरकारका क्रियाकलापबाट जनताले राहतको महसुस गर्ने कुनै ठाउँ नभएको पनि बताउनु भयो । राज्यले प्रवाह गर्ने सेवा प्रायः ठप्प भएको तथा विकास, निर्माणका काम पूरै अवरुद्ध भएको दाबी गर्दै उहाँले आर्थिक हिसाबले असफल तथा आर्थिक सूचकांकहरु पूरै धाराशायी बन्दै गएको पनि बताउनु भयो ।

एमसिसी तथा एसपिपी जस्ता गलत सम्झौतालाई अगाडि बढाएर दीर्घकालीन रुपमा राष्ट्रलाई नोक्सान पुर्‍याउने काम भएको पनि बताउनु भयो । नेपाललाई रणभूमि बनाउने तथा नेपालको भूमि प्रयोग गरेर कुनै राष्ट्रलाई असफल बनाउन लागेको उहाँको दावी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *