आज ४४ औं पुस्पलाल स्मृति दिवस : एमालेले विभिन्न कार्यक्रमहरु गर्दै मनाउँदै

काठमाडौं ! नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज  मनाइँदैछ । नेपालका कम्युनिष्ट पार्टीहरूले देशभरी नै पुष्पलालको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउन सुरु गरेका छन् ।

विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शव समेत नेपाल ल्याउन दिएको थिएन । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न उनले राजनीतिक यात्रा शुरु गरेका थिए ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। उनले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए। उनले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइँ लडेका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुष्पलालको शालिकमा माल्यार्पण गर्न डल्लु पुग्नुभएको छ । अध्यक्ष ओलीसँगै माल्यार्पण गर्न बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेल,उपाध्यक्ष बिष्णु पौडेल, उपमहासचिव बिष्णु रिमाल लगायत नेताहरु भानुभक्त ढकाल , उपमेयर सुनिता डंगोल, , कृष्णगोपाल श्रेष्ठ लगायत अन्य जनप्रतिनिधिहरु पुग्नुभएको छ र उक्त स्थानमा अहिले कार्यक्रम चलिरहेको छ। त्यसैगरी एमालेले पुस्पलाल स्मृति दिवसमा देशभरका जिल्लाहरुमा आ-आफ्नो तवरले कार्यक्रमहरु गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *