नेकपा एमालेको केन्द्रिय कमिटी बैठक सकियो : बैठकमा यस्ता छन अध्यक्ष ओलीका केन्द्रिय सदस्यहरुलाई सुझाव र हौसला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फेरि सम्हालिएर अघि बढ्ने बताउनुभयो।केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले केही मानिस बाहिरिँदैमा नआत्तिन सबैलाई अनुरोध गर्नुभयो ।

‘हामीले विगतको समीक्षा गरेका छौं । सिक्ने मुख्यतः उपलब्धी र असफलताबाट हो । सफलतापूर्वक अगाडि बढेका छौं । अलिकिति धक्का खायौं, सेटब्याक खायौं भन्दैमा निराश हुनुहुँदैंन,’ ओलीले भन्नुभयो, ‘संविधान बनाएपछि सरकारबाट हटाइयौं । खासै फरक परेन । सम्हालिएर अघि बढ्यौं । बलियो भएर सरकारमा आयौं । फेरि पनि हामी सम्हालिएर अघि बढ्छौं ।’
विचार, संगठन र विगतका कामहरुले सम्हालिएर अघि सक्ने उहाँको भनाइ थियो । ‘कसरी भोट माग्न जाने, के के गर्‍यौ भन्ने स्थिति छैन । केही काम नगरेर, विध्वंश मच्चाएर काम गर्ने त जनतामा जाने भन्दै छन् । हामीले त काम गरेका छौं,’ उहाँले भन्नुभयो, ‘जनताको इच्छा, आकांशविरुद्ध केही गरेका छैनौं । जनताको पक्षमा, समाजिक परिवर्तनको क्षेत्रमा असाधारण काम गरेका छौं ।’
यिनै कुराहरु प्रतिवेदनमा रहेको र केन्द्रीय सदस्यहरुले समर्थन गरेको भन्दै ओलीले धन्यवाद दिनुभयो ।

आफूहरुको गन्तव्य समाजवाद भएको उहाँले बताउनु भयो । ‘हामीले स्पष्ट गन्तव्य तोकेका छौं । अहिले समाजवाद उन्मुख बाटो भनेका छौं । नबुझिने खालको होइन, बुझिने खालका बहस, गन्तव्यमा छौं,’ ओलीले भन्नुभयो, ‘हामीले भनेको समाजवाद समृद्ध नेपाल सुखी नेपाली हो । समाजिक समानतासहितको समृद्ध नेपाल हो । जनताको जीवनस्तरमा आएको परिवर्तनसहित समृद्ध नेपाल हो ।’

कागजी र तथ्यांकको समृद्धि एमालेको लक्ष्य नभएको उहाँको भनाइ थियो । ‘हाम्रो एटिट्युट पुँजीपति एटिट्युट होइन । जीडीपी, प्रतिव्यक्ति आय बढ्यो भनेर समृद्धि हासिल गर्ने तर मानवीय आसु पीडा बाँकी नै हुन्छ । हामी सानो पनि पीडा हुनुहुँदैन भनेर अघि बढ्छौं,’ उहाँले भन्नुभयो, ‘समाजको कोही वर्ग पछाडि नपरोस् । हरेकले वितरण, उपलब्धी, राष्ट्रिय मतमा आफ्नो हिस्सा हुन सकोस् भनेर सुझावहरु आएका छन् । म स्वागत गर्छु ।’

अध्यक्ष ओलीले आत्मनिर्भरतातिर अघि बढ्ने बताउनुभयो । व्यापारलाई घाटाको स्थितिबाट नाफामा लैजान निर्यात बढाउनेतिर आफूहरु जाने उहाँको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *