पाँच दलिय गठबन्धन देश बनाउनका लागि नभएर देश लुट्नका लागि हो : महासचिव पोखरेल

धनगढी ! नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले पाँच दलिय सत्ता गठबन्धन देश बनाउनका लागि नभएर देश लुट्नका लागि बनेको ठोकुवा गर्नुभयो।

धनगढीमा आयोजित कैलाली जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो-‘जनार्दन शर्माहरुले करको दायरा हेरफेर गरेर जनताको पक्षमा हैन,दलाल पुजिवादको पक्षमा काम गरिरहेका छन् ।’ उहाँले थप्नुभयो-‘एमालेले सरकार छोड्दा देशको आर्थिक सूचकांक सकारात्मक थियो तर अहिले ९ महिनामै देशको अर्थतन्त्र ध्वस्त छ। तपाई हामीले बेलैमा सचेत नहुने हो भने देश अझ समस्यामा पर्छ।देश पाँच दलिय गठबन्धनको भागबन्डामा चलेको छ,उनीहरु देश बनाउन भन्दा देश लुट्नलाई तछाडमछाड गरिरहेका छन्।’

महासचिव पोखरेलले सत्ता गठबन्धन सर्वहारा जनताको पक्षमा नभएर दलाल पुँजीवादीहरुको पक्षमा रहेको बताउनु भयो। देशमा व्याप्त कोभिडको समयमा होस् वा लकडाउनको समयमा होस् एमालेको सरकारले जनतालाई सम्बोधन गरेको जिकिर गर्नुभयो। उहाँका अनुसार अहिले सामान्य समय रहँदापनि देशको समग्र स्थिति भयावह रहेको बताउनु भयो।

उहाँले पार्टीका नेता कार्यकर्तालाई पार्टीको नीतिलाई शिरमा राखेर अघि बढ्न निर्देशन दिनुभयो। व्यक्तिगत स्वार्थमा नभै पार्टीको सिद्धान्त र कार्यदिशामा हिड्न र आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने अभियान थाल्न निर्देशन दिनुभयो।

उक्त कार्यक्रममा स्वागत मन्तव्य कैलाली जिल्लाका उपसचिव ममताप्रसाद चौधरीले राख्नुभएको थियो भने एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकले पनि आफ्नो मन्तव्यका साथै प्रदेशको गतिविधी र आगामी कार्यदिशाबारे नेता कार्यकर्तालाई सुसूचित गराउनु भएको थियो।

उक्त कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानाले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो। उहाँले पार्टीको नीति अनुरुप अनुशासनमा हिड्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो। उक्त कार्यक्रमको अध्यक्षता एमाले कैलाली कार्यवाहक अध्यक्ष दुर्गा जोशीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *