माओवादी केन्द्र र नेकपा एस पतनको बाटोमा छन् : महासचिव पोखरेल

धनगढी ! नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्र र नेकपा एस पतनको बाटोमा हिडेको जिकिर गर्नुभयो। कंचनपुर जिल्लाको महेन्द्रनगरमा आज आयोजित जिल्लास्तरीय पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले एमाले सिध्याउने भनेर हिडेका यी पार्टीहरु आफै पतन हुँदै गएको बताउनु भयो।’माओवादी केन्द्र यसपटक १७ प्रतिशतबाट १३ प्रतिशतमा झर्‍यो,नेकपा एस भनिने समूह ४ प्रतिशतको हाराहारीमा छ।’-उहाँले भन्नुभयो। एमालेलाई सिध्याउछु भन्नेहरु आफै सकिँदै गएको उहाँको टिप्पणी थियो।

महासचिव पोखरेलले एमालेमा पार्टी भित्रको आन्तरिक खिचातानीले सोचेजत्तिको नतिजा ननिस्किएको औल्याउनु भयो। उहाँले अवसरवादकै कारण आफूले टिकट पाए ठिक नत्र देखाइदिन्छु भन्ने दम्भ पार्टी कार्यकर्तामा विकास भएकोले नोक्सानी पुगेको बताउनु भयो।

उहाँले गठबन्धनले राज्यसत्ताको चरम दुरुपयोग गरेर एमालेलाई घेराबन्दी गरेका कारणपनि कतिपय स्थानमा एमालेले पराजय बेहोर्नु परेको औल्याउनु भयो। उहाँले स्थानीय निर्वाचनका आन्तरिक विवाद र अवसरवादलाई थाती राखेर पार्टी हितमा जुट्न सबै नेता कार्यकर्तालाई आह्वान गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *