एमालेको दुई दिने अभिमुखिकरणद्रारा जनप्रतिनिधिको संकल्प प्रस्ताव : ‘शासक होइन सेवक बन्छौं’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पालिकामा विजयी जनप्रतिनिधिहरूले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको संकल्प प्रस्ताव पारित गरेका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न दुईदिने प्रशिक्षणपश्चात् एमालेबाट पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले यस्तो घोषणा गरेका हुन् । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथमिकता पनि उल्लेख छन् । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं ।

हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्नेछन्’ जारी संकल्प प्रस्तावमा भनिएको छ, ‘हामीहरू सदाचारमा नमुना बन्नेछौं । आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौं ।’ भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्ने प्रतिबद्धता एमालेका जनप्रतिनिधिले गरेका छन् । यस्तै, समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृतिविरुद्धको अभियानमा अग्रपंक्तिमा उभिएर सामाजिक–सांस्कृतिक रूपान्तरणको अगुवाइ गर्ने संकल्प गरेका छन् । समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् ।

संकल्प प्रस्तावमा अगाडि भनिएको छ, ‘हामी, स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुँदै, निर्वाचनमा जारी घोषणापत्र र प्रतिबद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरूले गर्नुभएका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर संकल्प गर्दछौं ।’पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्ने उल्लेख गर्दै एमाले जनप्रतिनिधिले आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *