आगामी संसदीय निर्वाचनमा एमालेले कसैसँग गठबन्धन गर्दैन : अध्यक्ष ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा  पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनु भयो । उहाँले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको तथा अन्य पार्टीहरु वामपन्थी नभएको जिकिर गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका ओलीले  नेकपा एकीकृत( समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री  बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताउनु भयो ।

उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *