सरकारले ल्याएको नीति तथा कार्यक्रम इतिहासकै फितलो र कमजोर कार्यक्रम : नेकपा एमाले

काठमाडौं ! नेकपा एमालेले सरकारले मंगलबार संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम इतिहासकै फितलो र कमजोर भएको टिप्पणी गरेको छ । संसद परिसरमा प्रतिक्रिया दिदै एमाले नेताहरुले सत्तापक्षकै सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गर्न नसकेको बताउनु भएको हो ।

एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले नीति तथा कार्यक्रमाथि प्रतिक्रिया दिदै भन्नुभयो, ‘इतिहासकै सवैभन्दा कमजोर र फितलो नीति तथा कार्यक्रम होला यो जसलाई सत्तापक्षले समेत समर्थन गर्न सकेन ।’ उपमहासचिव ज्ञवालीले नीति तथा कार्यक्रम पेश हुँदा एउटा पनि ताली नबजेको भन्दै कार्यक्रममा जे कुरा समेटिनुपर्ने थियो त्यो नसमेटिएको बताउनु भयो । ‘जे हुनुपथ्र्यो भएन । देश आर्थिक कुटनीतिक हिसावले अप्ठेरोमा छ । तर हामी अप्ठेरोमा छौं यसरी अघि बढ्छौँ भन्ने कार्यक्रममा केही छैन’, पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका ज्ञवालीको भनाइ छ ।

त्यस्तै सचिव योगेश भट्टराईले पनि नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिनुभयो । ‘समस्या सम्बोधन गर्ने कुनै विकल्प आएका छैनन् । आउने वर्ष डरलाग्दो आर्थिक संकट हामीले सामना गर्नु पर्ने हुन्छ । मुलुक त्यतातिर जाँदैछ’, भट्टराईको भनाइ छ । उहाँले सरकारको नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै भएको टिप्पणी गर्नुभयो । ‘यो नीति तथा कार्यक्रम समयको बर्बादी​ मात्र हो । यो सरकार जति समय रहन्छ त्यो पनि समयको बर्बादी हो’, भट्टराईको भनाइ छ ।

अर्का नेता गोकुल बाँस्कोटाले सरकारको नीति तथा कार्यक्रममा कुनै नवीनता नभएकाले उत्साहजनक हुन नसकेको बताउनु भयो । ‘नीति तथा कार्यक्रमा उत्साहजनक छैन । निरन्तरता छ नवीनता छैन, उत्साह पनि छैन’, नेता बास्कोटाले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकारले पेश गरेका कार्यक्रमभन्दा कुनै फरक छैन ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे कुनै प्रतिकृया दिनु भएन । सञ्चारकर्मीले अध्यक्ष ओलीलाई प्रतिकृया दिन आग्रह गर्दा भन्नुभयो ‘पर्सी ११ बजे सदनमा बोल्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *