दमकवासीको सेवामा समर्पित मेयरकी उम्मेदवार गीता अधिकारी

झापा । बैशाखको गर्मी जसरी दिनदिनै बढ्दैछ, त्यसैगरी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीको गृह नगर दमकको चुनावी सरगर्मी पनि उसैगरी तातिदैछ । कट्टर राजावादी राप्रपालाई शिरमा राखेर गणतन्त्रवादी पार्टी नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस एमाले विरुद्धको चुनावी मैदानमा छन् । २०४३ सालदेखि निरन्तर मेयरमा आकाङ्क्षा राखेका ७० वर्षीय राम थापा माओवादी र काँग्रेसको रोजाइमा हुनुहुन्छ । तर, थापाको उम्मेद्वारीमा न माओवादी कार्यकर्ता सन्तुष्ट छन् न काँग्रेसका नै । ‘एमालेलाई देखाउन भनेर राजावादी बोकेर हिड्नुपरेको छ’ माओवादीका एक स्थानीय नेता भन्छन् ‘गणतन्त्र ल्याउन १७ हजार मान्छे मार्ने अनि अहिले उही राजावादीलाई भोट माग्दै हिड्ने भन्ने प्रश्नले हैरान छौं ।’
यता एमालेले हालकी उपमेयर गीता अधिकारीलाई मेयरमा अघि सारेको छ । २८ वर्षको प्राध्यापन यात्रापछि राजनीतिको म”लधारमा आएकी गीताले उपमेयर भएर काम गर्दा दमकबासीमा एक सामाजिक अभियन्ताको छाप छोड्नु भएको छ । समाजले बेवास्ता गर्ने, दलित, मुस्लिम, अपाङ्गता भएका, मधेसी समुदायका महिलासँग गीताको हिमचिमले उहाँलाई ति सबै समुदायले आफ्नो आदर्श सम्झने गरेका छन् । दमक–७ का मुस्लिम महिलाहरुलाई सिलाइकटाइको तालिम दिएर घर बाहिर निकाल्ने अभियानमा होस् वा हिंसामा परेका महिलाका लागि सेफ हाउस निर्माण गरेर सुरक्षित राख्ने काममा होस्, गीताको योगदान दमकबासीले सम्झिरहेका छन् ।
अर्थशास्त्रमा एमफिल गरेर करिब तीनहजार ५०० विद्यार्थी पढ्ने दमक बहुमुखी क्याम्पसको प्रमुख हुने लाइनमा रहेकी गीताले राजनीतिको मुलधारमार्फत समाज परिवर्तनको आकांक्षा राख्नु भएको थियो ।
‘मैले २८ वर्षमा हजारौं विद्यार्थीको भविष्यको बाटो देखाएँ हुँला । जीवनको कुनै न कुनै मोडमा उनीहरुले मलाई सम्झना गरेका छन् ।’ अधिकारी भन्नुहुन्छ– ‘अघिल्लो निर्वाचन मेरो जीवनमा यूटर्न ल्याउने एउटा विन्दु भइदियो । अब राजनीतिमार्फत समाजलाई त्यस्तै बाटो देखाउन चाहन्छु जस्तो कलेज पढाउँदा मैले गरेँ ।’
एमालेको दमक नगर कमिटी,बुद्धिजीवी परिषदको जिल्ला उपाध्यक्ष,अनेम संघको जिल्लाको नेतृत्व गर्दै अघि बढेकी गीतालाई उपमेयर भएपछि अरु धेरै अवसरहरुले पछ्याए । तर जे जस्ता अवसर आए उहाँले तिनलाई कुशलतापूर्वक सम्पन्न गर्दै जानुभयो । मुलधारको राजनीतिको लामो अनुभव नभएका कारण कतिपय अवस्थामा उहाँले समस्या पनि भोग्नु प¥यो । तर समय एउटै रहेन । नगरपालिकालाई विश्व विद्यालयको संज्ञा दिने पूर्व प्राध्यापक अधिकारीले सिक्ने कुरामा कहिले हिचकिचाउनु भएन । ‘सिकाइलाई मैले कहिले सानो सम्झिन । नजानेको कुरा मेरा विद्यार्थीबाट सिक्ने प्रयास सधैं गरेँ, अझै गर्छु’ अधिकारीले भन्नुभयो ।

नेकपा (एमाले) को १० औं महाधिवेशन गीताका लागि राजनीतिक खुड्किलो उक्लिने एउटा अवसर बनेर आइदियो । देशको सबभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनु सहज पनि थिएन । र, त्यो जिम्मेवारी कमजोर पनि थिएन । गीताले पार्टीले दिएको जिम्मेवारीलाई समेत कुशलतापूवर्क पुरा गर्दै आम दमकबासीमा एउटा कुशल नेतृत्वको छाप पारिरहनु भएको छ ।
दमकको शिक्षा, स्वास्थ्यमा गीताले आमुल परिवर्तन गरेको सबैले भन्ने गरेका छन् । दमकमा रहेका सबै सामुदायिक विद्यालयमा निजी सरहका मन्टेश्वरी निर्माण गरेर सबै सामुदायिक विद्यालयको आकर्षण बेग्लै बनेको छ । दमक अस्पतालको भवन निर्माण मात्र होइन स्वास्थ्य बीमा कार्यक्रम र विशेषज्ञ सेवालाई आम दमकबासीले सस्तो उपचार पाएका छन् । ‘दमकका केही नेताहरुले यहाँका अस्पतालमा लगानी गरेका छन् ’ एक स्थानीय वासिन्दा भन्छन् ‘जसले गर्दा स्वास्थ्य बीमा कार्यक्रम उनीहरु दमक अस्पतालबाट निजी अस्पतालमा सार्न चाहन्छन् । तर यो आम दमकबासीको हितमा छैन । ’
सुशासन र पारदर्शीताका लागि दमकका मेयर रोमनाथ ओली समाजमा कहलिएका व्यक्तित्व हुनुहुन्छ । उहाँको नेतृत्वमा बसेर काम गर्नेले सिक्ने पनि तिनै दुई मन्त्र हुन् । गीतामा पनि यो लागु भयो नै । सार्वजनिक स्थलमा हालसम्म गीतालाई कसैले औंला उठाउने स्थिति बनेको छैन । त्यसैले पनि पार्टीले उहाँलाई मेयरको रुपमा अघि सारेको नेताहरु बताउँछन् । ‘दमकमा मैले करिब तीन पुस्तालाई पढाएँ । घरघरमा मेरा विद्यार्थी छन् ’ अधिकारी भन्नुहुन्छ ‘एमालेको बलियो पार्टी संगठनका अतिरिक्त मेरा विद्यार्थी, मैले उपमेयर हुँदा सेवा गर्न पाएका दमकका मतदाताले म र गठबन्धनका उम्मेदवारको पक्कै पनि तुलना गर्नुहुन्छ भन्ने मेरो विश्वास छ । ’
पूर्व प्रधानमन्त्री ओलीको गृह नगरका राष्ट्रिय गौरवका दुईवटा आयोजना सञ्चालनमा छन् । एउटा १७ तले भ्यू टावर र अर्को नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क । यी दुई योजनालाई समयमा सम्पन्न गर्नका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ । गठबन्धनमा आवद्ध दलले यी दुवै आयोजनाको खुलेर विरोध गरेका छन् । जसले गर्दा एमालेलाई मत नदिंदा दमकको विकास नै पछि पर्ने स्थानीयबासीहरुले बुझेका छन् ।
गीताका आगामी कार्यभार पनि राष्ट्रिय गौरवका यी आयोजनाहरुको सहजीकरण,अघिल्लो कार्यकालमा पार्टीको घोषणा अनुसार सुरु गरिएका अधुरा कामको सम्पन्नता र नयाँ र सिर्जनशील कामहरुको थालनीका लागि आफूलाई मेयर पदमा उभ्याएको अधिकारी बताउनुहुन्छ ।
दमकमा उपमेयरका उम्मेदवार यहाँको कर्मठ नेता अम्बिका प्रसाद खनाल हुनुहुन्छ । वर्षौंदेखि दमकका जनताको सेवामा समर्पित खनाल आम दमकबासीमा लोकप्रिय नाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *