स्थानीय निर्वाचन : एमालेबाट सबैभन्दा धेरै सिटमा मनोनयन दर्ता, माओवादी केन्द्रको राप्रपा भन्दा कम

काठमाडौं ! स्थानीय तह सदस्य निर्वाचनका लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्यामा उम्मेदवारी परेको हो ।

मंगलबार राति ९ बजेसम्मको विवरणअनुसार प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

उम्मेदवारको दलगत स्थिति प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । आयोगको विवरण अनुसार प्रमुख पदमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको छ । सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २८३ र ४४५ उम्मेदवारी परेको छ ।
त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्क छ । त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट प्रमुख पदमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको छ ।
यस्तै  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४८ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ३७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ ।
उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल माओवादी केन्द्रलाई उम्मेदवारी दर्तामा उछिनेको छ । उपप्रमुखमा राप्रपाबाट २२७ उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसबाट २१० उम्मेदवारी परेको देखिएको छ । सोहीअनुसार उपाध्यक्ष पदका लागि काँग्रेसबाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३१४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६ हजार ४६८, काँग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट ४ हजार ३८५ र स्वतन्त्रबाट ५ हजार ८३१ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार महिला सदस्यका लागि एमालेबाट ६ हजार ३१८, काँग्रेसबाट ५ हजार ९९६, माओवादी केन्द्रबाट ४ हजार १०७, राप्रपाबाट २ हजार ८९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार ११२, काँग्रेसबाट ५ हजार ७३१, माओवादी केन्द्रबाट ३ हजार ८३५, राप्रपाबाट १ हजार ६३३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार ६७०, काँग्रेसबाट ११ हजार ९३४, माओवादी केन्द्रबाट ८ हजार ५३८ र राप्रपाबाट ४ हजार ६३० जनाको
उम्मेदवारी दर्ता भएको छ ।
प्रमुख पदमा अन्यबाट १ हजार २९१, अन्यबाट अध्यक्षमा १ हजार २३५, अन्यबाट उपप्रमुखमा १ हजार २१, अन्यबाट उपाध्यक्ष ९१३, अन्यबाट वडा अध्यक्ष १२ हजार १८८, अन्यबाट महिला सदस्य ७ हजार ५५७, अन्यबाट दलित महिला सदस्य ६ हजार १६०, अन्यबाट खुला सदस्य १६ हजार ८८६ जनाको उम्मेदवारी परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *